निगमले अत्याधुनिक पेट्रोल पम्प बनाउँने

निगमले अत्याधुनिक पेट्रोल पम्प बनाउँने

कहिरन समाचार

साउन १२, काठमाडौँ । नेपाल आयल निगमले टेकुमा अत्याधुनिक प्रविधिसहितको नयाँ पेट्रोल पम्प निर्माण गर्ने भएको छ । काठमाडौँको टेकुस्थित साबिकको नेसनल ट्रेडिङको पेट्रोल पम्पलाई स्तरोन्नति गरेर आधुनिक प्रविधिसहितको नयाँ पम्प बनाउन लागेको हो । पाँच रोपनी जग्गामा सात करोड रुपियाँ लागतमा पम्प निर्माण गर्न लागिएको निगमले जनाएको छ ।

निगम प्रवक्ता विनीतमणि उपाध्यायले पेट्रोल पम्प निर्माणका लागि टेन्डर आह्वान गरिएको जानकारी दिए । प्रत्येक प्रदेशमा एउटा/एउटा पम्प स्थापना गर्ने नीतिअनुरूप काठमाडौँमा आफ्नै लगानीमा पम्प निर्माण गर्न लागिएको उनले बताए ।

पेट्रोल पम्पबाट हुन सक्ने सम्भावित जोखिमलाई न्यूनीकरण गर्न हालसम्मकै उच्च सुरक्षा सतर्कता अपनाउने गरी पम्प निर्माण गर्न लागिएको निगमले जनाएको छ । टेन्डर भइसकेकाले ठेक्का लागेको एक वर्षमा निर्माण सम्पन्न गर्ने निगमको लक्ष्य छ । स्वचालित मेसिनबाट ग्राहक आफैँले तेल भर्न सक्ने सुविधासहितको पम्प नेपालमा पहिलो पटक स्थापना गर्न लागिएको हो ।

निगमका अनुसार पम्प २४ घण्टै खुला रहनेछ भने कार्डबाट उपभोक्ताले तेल हाल्ने सुविधा पाउनेछन् । पम्पमा आगलागी हुन सक्ने जोखिमलाई कम गर्न फायर हाइड्रेन्ड सिस्टम जडान गरिने पनि निगमले जनाएको छ । पम्पमा भ्यापर रिकभरी सिस्टम (भीआरएस), हाइड्रेन्ड, कार्ड स्वाप सिस्टम जडान नेपालमै पहिलो पटक गर्न लागिएको छ ।

निगमले भैरहवा र नेपालगञ्जमा आफ्नो स्वामित्वमा पम्प निर्माण गरेर सञ्चालनमा ल्याएको छ । उपत्यकामा साझा सहकारी संस्था, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेनाका गरी १२ वटा पम्प सञ्चालनमा छन् । उपत्यकामा निजी क्षेत्रबाट तीन सय पम्प सञ्चालनमा छन् ।

मुलुकभर निजी क्षेत्रबाट एक हजार पाँच सय पेट्रोल पम्प सञ्चालनमा छन् । उपत्यकामा मात्र दैनिक छ लाख ५० हजार लिटर पेट्रोल र १० लाख लिटर डिजेल खपत हुने गर्छ ।