काठमाडौँ आएर शिवराज श्रेष्ठले दिए डीएनए टेष्टका लागि नमुना

काठमाडौँ आएर शिवराज श्रेष्ठले दिए डीएनए टेष्टका लागि नमुना

कहिरन समाचार

निहारिका राजपुत भनिने सोनाली कुमारी सिंहबाट जन्म भएको बालकसँग डीएनए टेष्ट गराउन आरोपित शिवराज श्रेष्ठ काठमाडौँ आइपुगेका छन् । आइतबार धनुषाबाट काठमाडौं आई श्रेष्ठले राष्ट्रिय विधिविज्ञान प्रयोगशाला, खुमलटारमा डीएनएका लागि रगतको नमुना दिएका हुन् ।

आफूलाई जबरजस्ती करणी गरी गर्भवती बनाएको र अहिले बिचल्ली पारेको आरोप लगाउँदै निहारिकाले दिएको जाहेरीका आधारमा धनुषा जिल्ला अदालतमा दर्ता भएको मुद्दामा अदालतले जबरजस्ती करणी होइन भन्ने फैसला गरेको थियो । फैसलामा राजीखुशीमै यौनसम्बन्ध स्थापित भएको देखिएको र निहारिकाले नै शिवराजलाई आफ्नो पति भनेको कारण जबरजस्ती करणी होइन भन्ने फैसलामा उल्लेख थियो ।

तर उक्त फैसलालाई चित्त नबुझाएकी निहारिकाले उच्च अदालत जनकपुरमा पुनरावेदन गएकी थिइन् । उच्च अदालतमा पुनरावेदन दर्ता गरेसँगै निहारिकाले काठमाडौंमा अनसन समेत बसेकी थिइन् । त्यसैको दबाबस्वरुप उच्च सरकारी वकिलले बहसका क्रममा डीएनए टेष्टका माग गरेका थिए । सोही आधारमा अदालतले निहारिकाबाट जायजन्म भएको बालक र आरोपित श्रेष्ठको डीएनए टेष्ट गराउने आदेश दिएको थियो । यद्यपि जिल्ला अदालतमा मागदाबी लिँदा भने डीएनए टेष्टको माग गरिएको थिएन ।

उच्च अदालतले डीएनए टेष्टका लागि आदेश दिएसँगै श्रेष्ठ आइतबार डीएनए टेष्टका लागि काठमाडौं आएका हुन् । विधिविज्ञान प्रयोगशालामा निहारिका पनि बच्चासहित पुगेकी थिइन् ।  डीएनए टेष्ट गर्दा बालकसँग मिलेमा श्रेष्ठविरुद्ध जबरजस्ती करणी ठहर हुनुपर्ने निहारिकाले माग गर्दै आएकी छिन् ।

यता श्रेष्ठले भने डीएनए म्याचिङ भएमा सोनाली कुमारी सिंह र उनीबाट जायजन्म भएको बालकलाई श्रीमती र छोराको रुपमा स्वीकार गर्ने बताइसकेका छन् ।