कानूनका विद्यार्थीको अगुवाइमा साइबर सुरक्षा र अपराध न्यूनीकरणसम्बन्धी छलफल

कानूनका विद्यार्थीको अगुवाइमा साइबर सुरक्षा र अपराध न्यूनीकरणसम्बन्धी छलफल


काठमाडौं । पछिल्लो समय बढ्दै गएको साइबर अपराध र चुनौतीका बिषयमा काठमाडौंमा साइबर सुरक्षा र सम्बन्धित अपराध न्यूनीकरणसम्बन्धी छलफल कार्यक्रम सम्पन्न गरिएको छ ।

‘हामी स्टुडेन्टस् ल फर्म’का सदस्यले आयोजना गरेको उक्त छलफलमा विभिन्न संघसंस्था, कलेज र विश्वविद्यालयका ५० जना सहभागी थिए । सहभागीहरुले सामाजिक सञ्जालमार्फत् भइरहेका व्यक्तिगत गोपनीयता भंग, विभिन्न स्क्याम, बाल पोर्नोग्राफी, फेक आईडी, हनी ट्र्याप र यसले समाजलाई पारिरहेको प्रभावबारे आफ्नो प्रस्तुति राखेका थिए ।

साइबर अपराधबाट तुलनात्मकरूपमा महिलाहरू बढी पीडित भएको साथै आफूमाथिको दुर्व्यवहारविरुद्ध उजुरी गर्ने वा आवाज उठाउने साहस नभएकाले त्यस्ता महिलालाई न्यायको वातावरण बनाउने बारे छलफल केन्द्रित रहेको आयोजक टीमकी सदस्य प्रतिज्ञा आचार्यले बताइन् ।

उक्त प्यानल छलफल श्रीकृष्ण भट्टराईको प्रमुख आतिथ्य साथै डा. राजीव सुब्बा थिए । प्यानल छलफलमा आनन्दराज खनाल, प्रकाश ज्ञवाली, ई. दीपेश जोशी, अधिवक्ता सरस्वती शाहलाई उपस्थिति गराइएको थियो ।