धरानमा विमानस्थल बनाउन उचित नहुने उड्डयन प्राधिकरणको निष्कर्ष

धरानमा विमानस्थल बनाउन उचित नहुने उड्डयन प्राधिकरणको निष्कर्ष


काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले धरानमा विमानस्थल निर्माण गर्न उचित नहुने निष्कर्ष निकालेको छ ।

प्राधिकरणले आज सूचना जारी गर्दै तराई तथा भित्री मधेसमा विमानस्थल निर्माण गर्दा निकटस्थ हवाईमैदानबाट कम्तीमा ४० नटिकल माइल हुनुपर्ने नीतिगत व्यवस्था विपरीत भएकाले धरानमा विमानस्थल निर्माण अनुपयुक्त हुने बताएको हो ।

आर्थिक विश्लेषणबाट सडक यातायातको सहज उपलब्धता र त्यस क्षेत्रको भौगोलिक अवस्थितिका कारण ‘वान वे अप्रोच’ हुने भएकाले समेत धरानमा विमानस्थल निर्माण सम्भव नहुने प्राधिकरणले बताएको छ ।

धरानमा विमानस्थल निर्माण गर्न धरान उपमहानगर प्रमुख हर्क साङ्पाङले अभियान चलाएपछि पर्यटनमन्त्री सुदन किराँतीले समिति गठन गरेर हवाईमैदान बनाउन उचित हुने÷नहुनेबारे अध्ययन गर्न लगाउनु भएको थियो । त्यसैका आधारमा धरानमा विमानस्थल निर्माण गर्नु नपर्ने देखिएको प्राधिकरणले प्रस्ट्याएको हो ।