त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा केशरजङ्ग बराल नियुक्त

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा केशरजङ्ग बराल नियुक्त


काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका उपकुलपतिमा प्रा. डा. केशरजंग बराल नियुक्त भएका छन् । त्रिविका कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज बराललाई २० औं उपकुलपतिमा नियुक्त गरेका हुन् ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई नेतृत्वमा रहेको उपकुलपति छनोट तथा सिफारिस समितिले बरालसहित चित्रबहादुर बुढाथोकी र टंकनाथ धमलाको नाम सिफारिस गरेको थियो । ३ जना मध्येबाट बराल नियुक्त भएका हुन् ।

२०१४ सालमा पाल्पामा जन्मिएका बराल २०३९ सालदेखि नेपालको उच्च शिक्षामा सक्रिय रहेका छन् । २०३९ सालमा विराटनगरमा रहेको महेन्द्र मोरङ क्याम्पसबाट प्राध्यापन पेशा शुरु गरेका उनले २०४१ सालमा पोखराको पृथ्वीनारायण क्याम्पसमा सरूवा भएर पुगेका थिए ।

पृथ्वीनारायण क्याम्पसमा पढाउँदै गर्दा विश्वविद्यालयको वृत्ति विकास कार्यक्रम अन्तर्गत छात्रवृत्तिमा पढ्न बाहिर गएर २०५० सालमा विद्यावारिधी अध्ययनका लागि भारतको दिल्ली युनिभर्सिटीमा भर्ना भएका थिए । २०५५ सालमा दिल्ली युनिभर्सिटीबाट विद्यावापारिधी (पीएचडी) को उपाधी पाएका उनी पोखरा विश्वविद्यालयका पूर्वउपकुलपति हुन् ।

२०७१ मा निजी कलेजलाई सम्बन्धन दिँदा आर्थिक चलखेल गरेको भन्दै बरालविरुद्ध अख्तियारमा मुददा परेको थियो । त्यस बेला उनले आरोपमा सफाइ पाएका थिए ।