सितापाइला घटना: पारिवारिक कलहले निम्त्याएको जघन्य अपराध

सितापाइला घटना: पारिवारिक कलहले निम्त्याएको जघन्य अपराध


काठमाडौँ । पारिवारिक कलहका कारण एकै परिवारका तीन जनाको हत्या भएको छ । हत्याराले आत्महत्या गरेका छन् । काठमाडौंको गैरीगाउँ घटना जस्तै प्रकृतीको हत्या घटना काठमाडौंकै सितापाइलामा भएको छ ।

गैरीगाउँमा रिसिइबीका कारण चार जनाको सामुहिक हत्या भएको थियो भने सितापाइलामा श्रीमान श्रीमतीबीचको आपसी विवादले ८ र २ वर्षकी बालिकाले अनाहकमा ज्यान गुमाउनु परेको छ ।

सोलुखुम्बु, दुधकुण्ड नगरापालिका १० घर भइ भैरबटोल बस्दै आएका राजु भन्ने काजी विश्वकर्मा घिमिरेले ३८ वर्षकी श्रीमति इश्वरी भन्ने प्रेम कुमारी श्रेष्ठ सहित ८ वर्षकी छोरी अनिशा श्रेष्ठ र नातिनी पर्ने २ वर्षीया शिवाना श्रेष्ठको हत्या गरेका हुन् ।

श्रीमती इश्वरीसहित तीन जनाको हत्यापछि उनले आफन्तलाई फोन गरेर सबैलाई मारेर आफु पनि मर्न हिँडेको बताएका थिए । त्यसपछि घटना प्रहरीसम्म पुगेको हो । लगत्तै घटनास्थलमा पुगेको जिल्ला प्रहरी परिसर काठमाडौं, प्रहरी वृत्त स्वयम्भु र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले इश्वरी, उनकी छोरी अनिसा र नातिनी सिवाना मृत भेटेको थियो भने काजी फरार थिए ।

उनको खोजी गर्ने क्रममा ह्वाइट गुम्बा जंगलस्थित सल्लाको रुखमा डोरीले पासो लगाई झुण्डिएका अवस्थामा फेला परेको काठमाडौंका प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । परिवारमा तीनै जनाको हत्यापछि नजिकैको जंगलमा पुगेर काजीले आत्महत्या गरेका हुन् ।

मृतक इश्वरीले एक महिनाअघि मात्रै प्रहरीवृत्त स्वयम्भुमा बलात्कारको मुद्दा दर्ता गराएकी थिइन् भने आरोपी ५१ वर्षका पुरुष यही फागुन १ गते ५ लाख रुपैंया धरौटी तिरेर छुटेको खुलेको छ । सोही विषयमा उनीहरुबीच मनमुटाव रहेको प्रारम्भिक अनुमान प्रहरीको छ ।

हत्यापछि काजीले खिचेको भिडियो क्लिप पनि प्रहरीले फेला पारेको छ । प्रहरीलाई प्राप्त भिडियोमा उनले घटना आफुले घटाएको स्वीकार गरेका छन् भने आफ्नो छोराको राम्रोसँग रेखदेख गर्न भनेको प्रहरी स्रोतले बताएको छ । उनले घटनापछि आफ्नो छोरा अनिसलाई भिडियो खिच्न लगाएका थिए ।

इश्वरीको पहिलो श्रीमान् तर्फका विदेशमा रहेका छोरालाई सम्बोधन गरेको भिडियो क्लिपमा उनले आफुले जोडेका केही सम्पत्ति बारे जानकारी दिँदै भाइलाई हेला नगर्न भनेका छन् । ईश्वरीले १७ वर्ष अगाडी काजीसँग दोस्रो बिवाह गरेकी थिइन् ।