रुस-युक्रेन युद्धमा अर्का एक नेपालीको मृत्यु

रुस-युक्रेन युद्धमा अर्का एक नेपालीको मृत्यु


काठमाडौँ । रूसी सेनामा भर्ती भएका थप एक नेपालीको मृत्यु भएको छ । रोजगारीका लागि करिब ६ महिनाअघि रूसी सेनामा भर्ती भएका बागलुङको ताराखोला गाउँपालिका-२ का ३६ वर्षीय जितबहादुर विकको मृत्यु भएको पारिवारिक स्रोतले बताएको छ ।

गाउँमा सवारीचालकका रूपमा काम गर्दै आएका विक गत असोजमा दलालमार्फत सेनामा भर्ती हुन रूस पुगेका थिए । रूसी सेनामा भर्ती भएलगत्तै युक्रेनी सेनाको गोली लागेर गम्भीर घाइते भएका विकको रूसको रोस्तोभमा उपचारका क्रममा मृत्यु भएको हो । विकको गत माघ २० गते मृत्यु भए पनि परिवारले दुईतीन दिनअघि मात्रै जानकारी पाएको ताराखोला गाउँपालिका-२ का वडा अध्यक्ष भद्रबहादुर घर्तीले जानकारी दिए ।

दलालमार्फत रूस पुगेका मृतक विकका दलालले उनको मृत्युको खबर पोर्चुगलमा रहेका कान्छा भाइलाई जानकारी दिएका थिए । उनकै भाइले मृत्युको खबर घरमा सुनाएका हुन् । मृतक विकको परिवारले आज (बुधवार) कुशको शव बनाएर आफ्नो परम्पराअनुसार अन्तिम संस्कार समेत गरेको वडाध्यक्ष घर्तीले बताएका छन् ।

विकको मृत्युको प्रमाणपत्र समेत प्राप्त भएपछि परिवारले अन्तिम संस्कार गरेको हो । मृतक विकको शव ल्याउन परिवारले सरकारसँग गुहार समेत मागेका छन् तर सरकारले अहिलेसम्म यसअघि मृत्यु भएका अन्य १३ जना नेपालीको समेत शव ल्याउन सकेको छैन ।

कमजोर कूटनीतिका कारण नेपालले रूससँग औपचारिक रूपमा संवाद समेत अघि बढाउन सकेको छैन । परिवारको जेठा छोराको रूपमा रहेका मृतक विकका दुई छोरी र एक छोरा छन् । योसँगै रूसी सेनामा ज्यान गुमाउने नेपालीको संख्या १३ पुगेको छ ।

यसअघि स्याङ्जाका प्रीतम कार्की, इलामका गंगाराज मोक्तान, दोलखाका राजकुमार कार्की, कपिलवस्तुका रूपक कार्की, कास्कीका देवान राई, गोरखाका सन्दीप थपलिया र कुन्दनसिंह नागलको मृत्यु भएको थियो । रूसी सेनामै भर्ती भएका स्याङ्जाका हरिप्रसाद अर्याल, कैलालीका भरतबहादुर शाह र धादिङका राजकुमार गिरीको पनि मृत्यु भइसकेको छ ।

अझै पनि रूसी सेनामा भर्ती भएका नेपालीहरूको यकिन तथ्यांक सरकारसँग छैन । दलालमार्फत पैसा कमाउने लोभमा अवैध बाटो हुँदै रूस पुग्नेको संख्या २ सयभन्दा माथि रहेको सरकारको दाबी छ । परराष्ट्र मन्त्रालयले रूसी सेनामा भर्ना भएकामध्ये एक सयभन्दा धेरै बेपत्ता रहेको जनाएको छ ।