मित्रता माविका विद्यार्थीलाई छात्रवृत्ति बाख्राको पाठी

मित्रता माविका विद्यार्थीलाई छात्रवृत्ति बाख्राको पाठी


तनहुँ । आँबुखैरेनी गाउँपालिका १ स्थित मित्रता माध्यमिक विद्यालयमा अध्ययनरत सपना भट्टलाई छात्रवृत्तिको रुपमा बाख्राको पाठी पाउँछु भन्ने कल्पनै थिएन । उनले छात्रवृत्तिका रुपमा नगद वा शैक्षिक सामग्री पाउने अनुमान गरिन् ।

कक्षा ८ मा अध्ययनरत भट्टलाई छात्रवृत्तिको रुपमा पाठी पाउँदा नौलो लाग्यो । उनले भनिन्, “हामीले त छात्रवृत्तिमा नगद वा शैक्षिक सामग्री दिएको पढेका, देखेका थियौँ तर विद्यालयले हामीलाई बाख्राको पाठी छात्रवृत्तिको रुपमा दिएको छ ।”

कक्षा ७ मा अध्ययनरत रोजना रोकालाई पनि छात्रवृत्तिको रुपमा पाठी पाउँदा नौलो अनुभूति भएको छ । छात्रवृत्तिको रुपमा नगद वा शैक्षिक सामग्री दिने परम्परालाई परिवर्तन गर्दै विद्यालयले तनहुँ जिल्लामै पहिलो पटक बाख्राको पाठी प्रदान गरेको हो ।

विद्यालयले तीन जना विद्यार्थीलाई छात्रवृत्तिको रुपमा बाख्राको पाठी वितरण गरेको प्रधानाध्यापक सुरेन्द्र बोगटीले बताए । नगद वितरण गर्दा छिटो खर्च हुने र पुनः उहीँ समस्या दोहोरिने भएकाले विद्यार्थीलाई आत्मनिर्भर बनाउन प्रेरित गर्ने उद्देश्यले छात्रवृत्तिमा पाठी वितरणको अभियान सुरु गरिएको उनले बताए ।

प्रधानाध्यापक बोगटीका अनुसार कक्षा ८ मा अध्ययनरत सपना भट्ट, कक्षा ७ मा अध्ययनरत रोजना रोका र कक्षा ६ मा अध्ययनरत सृष्टि गुरुङलाई छात्रवृत्तिका रुपमा एक/एक वटा पाठी वितरण गरिएको छ ।

विद्यालयमा स्थापना गरिएको दुई वटा छात्रवृत्ति कोषबाट प्राप्त रु २१ हजारमा तीन वटा उन्नत बाख्राको पाठी खरिद गरिएको उनको भनाइ छ । उक्त छात्रवृत्ति काराखेती अस्मी स्मृति र गाउँवेशी कृषि अनुसन्धान केन्द्रबाट विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीका लागि उपलब्ध भएको थियो ।

छात्रवृत्ति वितरणलाई प्रभावकारी र दिगो बनाउन, दीर्घकालिन रुपमा आयआर्जनसँग जोड्न सुरु गरिएको अभियान प्रभावकारी हुने विश्वास लिइएको आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए ।