मिटरब्याज पीडितले झापा र कञ्चनपुरदेखि काठमाडौंसम्म पैदलमार्च गर्ने

मिटरब्याज पीडितले झापा र कञ्चनपुरदेखि काठमाडौंसम्म पैदलमार्च गर्ने


झापा । मिटरब्याज पीडितले फेरी पैदलमार्च गर्ने घोषणा गरेका छन् । राज्यले आफ्नो कुरा नसुनेको र न्यायका लागि भन्दै मिटरब्याज पीडितहरुले भोलिदेखि फेरी काठमाडौंसम्म पैदलमार्च गर्न लागेका हुन् ।

मिटरब्याज तथा ठगी विरुद्ध किसान मजदूर संघर्ष समितिले आज झापामा पत्रकार सम्मेलन गरी झापा र कञ्चरपुरबाट एकैसाथ पैदलमार्च गर्न लागेको जानकारी दिएको छ । आफ्ना कुरा राज्यले नसुनेको र आयोगले समेत काम नगरेको भन्दै समितिका अध्यक्ष अवधेश कुसवाहाले राज्यलाई देखाउन, सुनाउन हिँडेर फेरी शान्तिबाटिका आइपुग्ने घोषणा गरेका छन् ।

१६ माघदेखि काकडभिट्टा र महेन्द्रनगरबाट एकसाथ पैदलमार्च गर्ने टोली चितवनमा भेट भई संयुक्तरुपमा काठमाडौं आउने कुसवाहाले बताए । मिटरब्याज पीडितहरुले यसलाई मिटरब्याजविरुद्ध न्याय मार्च नाम दिएका छन् । मिटरब्याज पीडित १५ दिनपछि काठमाडौं आइपुग्नेछन् ।

यसअघि पनि विभिन्न जिल्लाका मिटरब्याज पीडित काठमाडौं केन्द्रीत आन्दोलनमा उत्रिएपछि सरकारले अनुचित लेनदेन छानबिन आयोग गठन गरेको थियो । तर, आयोगले आफुहरुको समस्यामा चासो नदिएको गुनासो उनीहरुको छ ।