‘अर्को विश्व सम्भव छ’ नारासहित वैकल्पिक विश्वको बहस काठमाडौंमा हुँदै

‘अर्को विश्व सम्भव छ’ नारासहित वैकल्पिक विश्वको बहस काठमाडौंमा हुँदै


काठमाडौँ । वर्तमान विश्व व्यवस्थाको विकल्पबारे बहस र पैरवी गर्ने ‘विश्व सामाजिक मञ्च (वर्ल्ड सोसियल फोरम)’ को १६औं संस्करण आउँदो फागुन ३ देखि ६ गतेसम्म काठमाडौंमा हुँदै छ ।

वैकल्पिक विश्वबारे बहस हुने मञ्चसम्बद्ध कार्यक्रमका रूपमा फागुन २ गते संसदीय मञ्च र फागुन ५ गते अन्तरमहादेशीय युवा सम्मेलन पनि आयोजना हुने विश्व सामाजिक मञ्च २०२४, नेपाल आयोजक समितिले जनाएको छ । २०७९ चैत २ गते सम्पन्न मञ्चको अन्तर्राष्ट्रिय परिषद्को बैठकले नेपालमा १६औं संस्करण आयोजना गर्ने निर्णय गरेको थियो ।

वर्तमान विश्व व्यवस्थाले अंगीकार गरेका नीति र संरचनाले सिर्जना गरेका नकारात्मक प्रभावबारे आलोचनात्मक बहस गर्दै वैकल्पिक सोच र विचार निर्माण गर्न विश्व सामाजिक मञ्च शुरू भएको हो । सन् २००१ मा ब्राजिलको पोर्ते एलेग्रेमा पहिलो पटक आयोजना गरिएको यस मञ्चलाई विश्व आर्थिक मञ्चको जवाफका रूपमा पनि लिने गरिन्छ । खासगरी नवउदारवादी नीतिहरूको आलोचना गर्ने यस मञ्चले सामाजिक न्याय, मानव अधिकार, समानता, प्रकृति संरक्षण जस्ता विषयमा बहस एवं दबाब सिर्जना गर्दै आएको छ ।

‘अर्को विश्व सम्भव छ’ भन्ने नारा बोकेको यस मञ्चले विभिन्न सामाजिक आन्दोलन, सामुदायिक अभियान, ट्रेड युनियन, किसान संगठन, युवा संगठन, प्राज्ञ, बुद्धिजीवी र अन्य सीमान्तीकृत समुदायलाई समेटेको छ ।

नेपालमा हुने १६औं संस्करणको उद्घाटन समारोह फागुन ३ गते काठमाडौंको भृकुटीमण्डपमा हुनेछ । त्यही दिनबाट विभिन्न शीर्षकमा छलफल हुने जनाइएको छ । भृकुटीमण्डप प्रदर्शनी केन्द्रमा सार्वजनिक कार्यक्रम र प्रदर्शनी आयोजना हुनेछ भने नेपाल पर्यटन बोर्डको सभाहल, रत्नराज्य क्याम्पस, नेपाल ल क्याम्पस, वाल्मीकि क्याम्पस र पद्मकन्या क्याम्पसमा विभिन्न सत्र चल्नेछन् ।

आर्थिक असमानता, श्रम आप्रवासन, विभिन्न किसिमका भेदभाव, लैंगिकता, कृषि, शान्ति, लोकतन्त्र लगायत १३ वटा मुख्य विषयमा केन्द्रित हुने सामाजिक मञ्चको १६औं सत्रमा करीब २५० वटा कार्यक्रम हुने आयोजक समितिले जनाएको छ ।