सेक्युरिटी प्रिन्टिङ प्रेस र पेमेन्ट गेटवेमा भ्रष्टाचार, दुई जना पक्राउ

सेक्युरिटी प्रिन्टिङ प्रेस र पेमेन्ट गेटवेमा भ्रष्टाचार, दुई जना पक्राउ


काठमाडौँ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सेक्युरिटी प्रिन्टिङ र पेमेन्ट गेट वे मा भ्रष्टाचार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । अख्तियारले नेपाल टेलिकमका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेल र सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल पक्राउ गरेको हो ।

गैरकानूनी सम्पत्ति आर्जन गरेको उजूरीका सम्बन्धमा अनुसन्धान भइरहेकोमा दुबैले नेपाल राष्ट्र बैंकको स्वीकृतिबेगर बिदेशी बैंकमा विदेशी मुद्रामा खाता खोली रकम जम्मा गरेको, नेपालको सरकारी सेवामा कार्यरत रहँदाकै अवस्थामा अन्तर्राष्ट्रिय परामर्शदाताको पदमा औपचारिक रूपमा नियुक्ति लिएको तथा विकल पौडेलको हकमा निजले संयुक्त राज्य अमेरिकाको स्थायी आवासीय अनुमतिसमेत लिएको देखिएकोले निजहरूले कसुरसम्बद्ध प्रमाण नष्ट गर्न सक्ने र भागी जाने सम्भावना भई अनुसन्धान कार्यमा बाधा पुग्ने देखिएकोले हिरासतमा लिई थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले बताए ।

विकल सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरण र सुनिल नेशनल पेमेन्ट गेटवे खरिद प्रकरणमा प्रतिवादी छन् । अख्तियारले गत असोज १५ गते सचिव मधुकुमार मरासिनीसहित ९ जनाविरूद्ध दायर गरेको भ्रष्टाचारको मुद्दामा २३ करोड २७ लाख ५८ हजार ७७ रुपैयाँ बिगो कायम गरी कैद सजाय र जरिवानाको मागदाबी गरिएको छ ।

गत वैशाखमा अख्तियारले विकल पौडेलसहित ९ जनालाई प्रतिवादी बनाएर २ अर्ब ६९ करोड रुपैयाँको मुद्दा दायर गरेको थियो । विकल विरूद्ध मात्रै अख्तियारले ६९ करोड ८ लाख ८२ हजार ८५४ रुपैयाँको बिगो मागदाबी कायम गरेको थियो ।