महासचिव पाण्डेयविरूद्ध राज्य व्यवस्था समितिमा नागरिकता दुरूपयोगको उजुरी

महासचिव पाण्डेयविरूद्ध राज्य व्यवस्था समितिमा नागरिकता दुरूपयोगको उजुरी

कहिरन

संघीय संसदको कार्यवाहक महासचिव पद्मप्रसाद पाण्डेयविरूद्ध प्रतिनिधि सभाकै राज्य व्यवस्था तथा सुशासन समितिमा नागरिकता दुरूपयोगको उजुरी परेको छ।

नागरिकता दुरूपयोगबारे परेको उजुरीबारे समितिले गृह मन्त्रालयलाई पत्र लेख्दै जवाफ समेत माग गरेको छ। संसदीय समितिले चासो व्यक्त गरेपछि गृह मन्त्रालयले पाण्डेयको नागरिकताका सम्बन्धमा जिल्ला प्रशासन कार्यालयबाट सम्पूर्ण विवरण समेत मगाएको छ।

‘मन्त्रालयले केही विषय मागेको थियो। ती विवरण जिल्ला प्रशासन कार्यालयले पठाइदिएको छ,’ जिल्ला प्रशासन कार्यालय पाल्पाका एक अधिकृतले नाम उल्लेख नगर्न आग्रह गर्दै सेतोपाटीसँग भने, ‘गृहले कहिले नागरिकता जारी भएको मिति, नागरिकता नम्बर लगायतका विवरण मागेको थियो। छानबिन गर्ने विषय मन्त्रालयको हो।’

संघीय संसदको महासचिव पदमा नियुक्तिका लागि सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले सिफारिस गरेको भए पनि पाण्डेयको नियुक्ति राष्ट्रपति रामचद्र पौडेलले लामो समयदेखि अतिरिक्त र अनावश्यक सक्रियता देखाएर रोकेर राखेका छन्।

संसदको महासचिवमा नियुक्ति सिफारिससँगै उनले एकभन्दा बढी नागरिकता लिएको विषय बाह्रखरी अनलाइनले पहिलोपटक सार्वजनिक गरेको थियो।

पाल्पाका पाण्डेयले २०४६ साल असार २८ गते ३५ नम्बरको नागरिकता लिएका थिए। नागरिकतामा उनको जन्ममिति २०२६ असोज १५ गते उल्लेख छ।  तर नागरिकता हराएको भन्दै उनले २०६६ साल भदौ ८ गते ३९१०११/१५५ नम्बरको नागरिकता लिएका थिए। उक्त नागरिकतामा भने उनको जन्ममिति २०३२ साल पुस २६ गते उल्लेख छ।

जिल्ला प्रशासन कार्यालयले द्वन्द्वकालमा भएको घटनाका कारण २०६२ साल माघ १८ गते अघिको सम्पूर्ण अभिलेख जलेर नष्ट भएको उल्लेख गर्दै उनलाई अर्को नागरिकता दिएको थियो। तर पछि हराएको नागरिकता भेटिएको भन्दै पाण्डेयले दुवै नागरिकता जिल्ला प्रशासन कार्यालयमा बुझाउँदै पुरानो नागरिकता कायम गरिदिन निवेदन दिएका थिए।

पाण्डेयको निवेदनपछि जिल्ला प्रशासन कार्यालयले २०६६ साल भदौ ८ गते पाण्डेयको नयाँ नागरिकता रद्द गरी पुरानै ३५ नम्बरको नागरिकता कायम गरिदिएको थियो।

राज्य व्यवस्था समितिले दुई वटा नागरिकता प्रयोग गरेका पाण्डेयले नागरिकता दुरूपयोग गरे/नगरेको विषयमा छानबिन सुरू गरेको हो। समिति सभापति रामहरि खतिवडाले उजुरीका विषयमा बुझ्ने काम भइरहेको सेतोपाटीलाई बताए।

‘तथ्य सत्य नबुझी हामीले केही गर्ने कुरा भएन। भएको के हो बुझ्नुपर्छ,’ समिति सभापति खतिवडाले भने, ‘हचुवाका भरमा केही गर्ने कुरा भएन। सत्यतथ्य बुझ्ने कुरा अब प्रारम्भ हुन्छ। तथ्य नबुझी कसैको हुर्मत लिने कुरा भएन।’

कार्यवाहक महासचिव पाण्डेयले भने आफूले नागरिकताको दुरूपयोग नगरेको बताउँदै आएका छन्।

उनले आफूले नागरिकता हराएका कारण दुई नागरिकता लिएको र पछि एउटा रद्द गरेको स्वीकार गर्दै आएका छन्।