माइतीघरमा प्रदर्शनमा उत्रिएका डा. गोविन्द केसीसहित नौ जना पक्राउ

माइतीघरमा प्रदर्शनमा उत्रिएका डा. गोविन्द केसीसहित नौ जना पक्राउ


काठमाडौँ । काठमाडौंको माइतीघरमा प्रदर्शन गर्ने क्रममा डाक्टर गोविन्द केसी सहित ९ अभियन्तालाई प्रहरीले पक्राउ गरेको छ । निषेधित क्षेत्र घोषणा गरिएको माइतीघर पुगेको केही क्षणमै उनीहरूलाई प्रहरीले पक्राउ गरि उनीहरूलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखिएको हो ।

स्वास्थ्य र मेडिकल शिक्षामा सुधार, सबै नागरिकको स्वास्थ्य सेवा पाउने अधिकार तथा विद्यार्थीहरूको योग्यताका आधारमा निःशुल्क वा न्यूनतम शुल्कमा मेडिकल शिक्षाका कोर्सहरू पढ्न पाउने अधिकार अनि न्याय र सुशासनको माग गर्दै उनीहरू प्रदर्शनमा उत्रिएका थिए ।

त्यस्तै द्वन्द्वपीडितलाई न्याय दिन तथा माइतीघरको निषेधाज्ञा हटाउन पनि उनीहरूले माग गरेका छन् । डा. केसी सहितका अभियन्ताले एकपछि अर्को गरी सत्तामा पुग्ने दलहरूले भने निरन्तर लुटतन्त्र र दण्डहीनतालाई प्रश्रय दिइरहेको आरोप समेत लगाएका छन् ।

जिल्ला प्रशासन कार्यालय, काठमाडौंले माइतीघरदेखि नयाँ बानेश्वरसम्मको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ । यो क्षेत्रमा पाँच जनाभन्दा बढी भेला गर्न रोक लगाएको छ ।

यस विरुद्ध सर्वोच्च अदालतमा पनि मुद्दा परेको छ। यसमा सर्वोच्चले कारण देखाउन आदेश जारी गरेको छ।