अपूर्वक्षितिजमाथि चार मुद्दाको तयारी

अपूर्वक्षितिजमाथि चार मुद्दाको तयारी

कहिरन समाचार

जिल्ला प्रहरी परिसर काठमाडौंले कमेडियन अपूर्वक्षितिज सिंहको अनुसन्धान सकेर प्रतिवेदन बुझाउने तयारी गरेको छ।परिसरले मंगलबार अनुसन्धान सकेर सरकारी वकिल कार्यालयमार्फत जिल्ला प्रशासन कार्यालय काठमाडौंमा प्रतिवेदन बुझाउने तयारी गरेको हो।

परिसर प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनालीले यसको अनुसन्धान सकिएको बताए। ‘यसको अनुसन्धान सकेर बिहानै फाइल पठाउन भनेका थियौं, आजै टुंगिन्छ,’ उनले भने।

नेवा समुदायमाथि लक्षित गर्दै स्ट्यान्ड अप कमेडी गरेको भिडिओ सार्वजनिक भएपछि अभियन्ताहरूले अपूर्वविरूद्ध परिसरमा जाहेरी दिएका थिए।

अभियन्ताहरूले उनीविरूद्ध चार वटा शीर्षकमा जाहेरी दिएका थिए। जाहेरी दिएपछि उनी भदौ १२ गते पक्राउ परेका थिए। परिसरले सुरूमा उनीविरूद्ध एउटा शीर्षकमा म्याद थप गरेको थियो।

जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट प्रहरीले सुरूमा उनीमाथि मुलुकी अपराध संहिता, २०७४ परिच्छेद-१० भेदभाव तथा अन्य अपमानजन्य व्यवहारसम्बन्धी कसुरको दफा १६५ अनुसार अनुसन्धान गरिरहेको थियो। यो दफामा सामाजिक रीति स्थितिमा खलल पार्न नहुने व्यवस्था छ।

यो शीर्षकमा अनुसन्धान गर्न प्रहरीले १० दिन हिरासतमा राख्न अनुमति पाएको थियो। यो म्याद आज सकिएको छ।

यसैगरी दफा ६५ सार्वजनिक शान्ति खलल पार्न नहुने, दफा १६६ जातिपातिको आधारमा छुवाछुत वा अन्य भेदभावपूर्व व्यवहार गर्न नहुने र दफा १६८ अपमानजनक वा अमावनीय व्यवहार गर्न नहुने कसुरमा जाहेरी दिएका थिए।

यी सबै शीर्षकलाई अध्ययन गरी अनुसन्धान प्रतिवेदन बुझाउने एसपी मैनालीले बताए। ‘चार वटा शीर्षकको अनुसन्धान सकेर हामी मुद्दा बुझाउँछौं,’ उनले भने।

कमेडियन अपूर्वले नेवा समुदायको भाषा, खाना, संस्कृतिमाथि व्यंग्य गरेको आरोप छ। उनले यसरी व्यंग्य गर्दा नेवा समुदायका केही व्यक्तिहरूले आपत्ति जनाएपछि उनले माफी समेत मागेका थिए।

उनले आफ्नो फेसबुकमार्फत माफी मागेका थिए। तर पनि उनलाई कारबाही हुनुपर्ने माग गर्दै अभियन्ताहरूले उनीविरूद्ध जाहेरी दिएका थिए।

सुरूमा अभियन्ताहरूले नै उनलाई हिरासतमा पठाएपनि गत आइतबार भने उनलाई कारबाही गर्न पुगेको बताउँदै सहमति गरेका थिए। दुबै पक्ष परिसर पुगेर अपूर्वले गरेको गल्तीलाई क्षमा गरेको र अब हिरासतबाट छाडिदिन आग्रह गरेका थिए।

अभियन्ताहरूले यसको लागि क्षमापत्र समेत तयार गरेका थिए। यसरी क्षमा गरी छुटाउन माग गरेपछि उनी सोमबार नै छुट्ने आँकलन गरिएको थियो। तर धेरै शीर्षकमा जाहेरी आएको र अनुसन्धानको फाइल तयार भइनसकेको भन्दै अपूर्व हिरासतबाट छुटेनन्।

कमेडियन सिंहले कुनै समय गरेको स्ट्यान्डअपको भिडिओ भदौ १० गते कमेडी क्याफे नामको युट्युब च्यानलमा हालिएको थियो। उक्त भिडिओमा उनले ‘नेवारको परम्परा’ शीर्षकमा व्यंग्य गरेका थिए।

भिडिओ हालेको २४ घन्टा नबित्दै त्यसको विरोध र आलोचना भयो। विरोध भएपछि कमेडी क्याफेले युट्युबबाट भिडिओ गत भदौ ११ गते नै हटाएको थियो।