किसानले दुध बिक्रीको ७ अर्ब भुक्तानी पाएनन्

किसानले दुध बिक्रीको ७ अर्ब भुक्तानी पाएनन्


काठमाडौँ । देशभरका दुग्ध उत्पादक किसान दुध बिक्री बापतको भुक्तानी नपाउँदा समस्यामा परेका छन् । सरकारी र निजी डेरी कम्पनीले किसानको करोडौं रुपैयाँ भुक्तानी गरेका छैनन् ।

असोजमा बिक्री गरेको दुधको भुक्तानी मंसिर अन्त्य हुन लाग्दा समेत पाउन नसकेको किसानले गुनासो गरेका छन् । सरकारी र निजी डेरी कम्पनीले किसानलाई ७ अर्ब भुक्तानी गर्न बाँकी रहेको छ । जसमा ७० प्रतिशत निजीको रहेको छ ।

निजी क्षेत्रले दुई महिनाको रकम भुक्तानी गर्न बाँकी रहेको नेपाल डेरी एशोसिएसनले जनाएको छ । उत्पादन अनुसारको खपत हुन नसक्दा किसानलाई भुक्तानी गर्न नसकिएको एशोसिएसनका अध्यक्ष प्रलाद दाहाललले बताए । अध्यक्ष दाहालले दूधको खपत झन्डै ३० प्रतिशतले कम भएको बताए । माघ फागुन भन्दा अगाडी रकम भुक्तानी गर्न सक्ने अवस्था नरहेको अध्यक्ष दाहालले बताए ।

सरकारी स्वामित्वको दुग्ध विकास संस्थानले पनि चार महिनाको करिब ७१ करोड रकम भुक्तान गर्न बाँकी रहेको संस्थानका महाप्रबन्धक सन्जिव झाले बताए । आर्थिक मन्दीका कारण संस्थानकै खपत १५ प्रतिशतले कम भएको झाले बताए । उनले निजी डेरीमा जाने दूध पनि अहिले संस्थान तिर आउन थालेको बताए ।

हरेक १५–१५ दिनमा दूधको भुक्तानी पाउनुपर्ने भए पनि लामो समयसम्म नपाउँदा दुग्ध उत्पादक किसानले पशुलाई आहार खुवाउनसमेत कठिन बन्दै गएको छ । नेपालमा दैनिक ६५ लाख लिटर दुध उत्पादन हुन्छ ।

उपभोक्ताको क्रयशक्ति घटेका कारण धेरैले दुधमा कटौती गरेका छन् । देशभर ६ लाख किसान दुग्ध व्यवसायमा प्रत्यक्ष संलग्न भएका छन् । केही महिना अघिसम्म दूध अभाव झेलिरहेका डेरी उद्योगीलाई अहिले बढी भएको दूध व्यवस्थापनको चिन्ता थपिएको छ ।