केएमसीमा विश्वकै दुर्लभ क्यान्सरको बिना चिरफार सफल उपचार

केएमसीमा विश्वकै दुर्लभ क्यान्सरको बिना चिरफार सफल उपचार


काठमाडौँ । काठमाडौं मेडिकल कलेजमा विश्वकै दुर्लभ क्यान्सरको बिना चिरफार सफल उपचार गरिएको छ । काठमाडौं कपनका ४९ वर्षीय दावा शेर्पाको कलेजोमा रहेको एक सेन्टिमिटरभन्दा सानो क्यान्सरको सेल नष्ट गरिएको हो ।

बिरामी शेर्पाको रेडियो फ्रिक्वेन्सी एब्लेसन प्रविधिबाट सफलतापूर्वक विश्वकै सानो दुर्लभ क्यान्सरको उपचार गरिएको केएमसीका इन्टरभेनसन रेडियोलोजी विशेषज्ञ डा.पंकज काफ्लेले जानकारी दिए । केएमसीका कलेजो रोग विशेषज्ञ डा. शेखर पौडेल र डा.काफ्लेसहितको टोलीले क्यान्सर सेल नष्ट गरेका हुन् ।

नेपालमा पहिलोपटक यस्तो केसको सफलतापूर्वक उपचार गरिएको डा.काफ्ले बताए । उनका अनुसार अहिले बिरामीको स्वास्थ्य अवस्था राम्रो रहेको छ । रेडियो फ्रिक्वेन्सी एब्लेसन प्रविधिबाट बिना चिरफार क्यान्सर नष्ट गरिएकाले बिरामीलाई सहज भएको हो ।

यो प्रविधिबाट बिना चिरफार, कडा औषधी र रेडियोथेरापी प्रयोग नगरी सहज रूपमा ट्युमरलाई नष्ट गर्न सकिने चिकित्सकहरूको भनाइ छ ।