स्वदेशमै उत्पादित आलु, प्याज र स्याउमा भ्याट नलाग्ने

स्वदेशमै उत्पादित आलु, प्याज र स्याउमा भ्याट नलाग्ने


काठमाडौँ । आन्तरिक राजश्व विभागले आन्तरिक उत्पादनको आलु र प्याजको बिक्रीमा मूल्य अभिवृद्धि कर (भ्याट) नलाग्ने प्रष्ट पारेको छ । विगतमा भ्याट छुट दिइँदै आएका केही वस्तुमा चालु आर्थिक वर्षको बजेटमार्फत् सरकारले उक्त छुट सुविधा कटौती गरेको थियो ।

सरकारले आयातित आलु, प्याजमा मात्रै भ्याट छुट खारेज गरेको बताए पनि आन्तरिक उत्पादित आलु र प्याजको बिक्रीमा पनि भ्याट लगाइएको भन्दै कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका व्यापारी तथा उद्योगी व्यवसायीले चार दिनदेखि बिक्रि रोकेका थिए ।

विरोधस्वरुप कालीमाटीका होलसेल व्यापारीले आलु, प्याजको आयात तथा बिक्री रोकेपछि बजारमा अभाव र चर्को मूल्यवृद्धि देखिएको छ ।

विभागले आज एक विज्ञप्ति जारी गर्दै ‘आन्तरिक कृषिजन्य उत्पादनलाई प्रवर्द्धन र संरक्षण गर्ने नेपाल सरकारको नीति अनुरुप नेपालमा उत्पादन भएका आलु, प्याजमा मूल्य अभिवृद्धि कर नलगाइएको र नलाग्ने व्यहोरा सरोकारवाला सबैमा यसै सूचनाद्वारा जानकारी गराइन्छ,’ भनेको छ ।

तर व्यावसायीहरुले भने सरकारले आन्तरिक उत्पादनमा कर नलाग्ने बताए पनि आन्तरिक राजस्व कार्यालय लगायतका निकायले अनुगमनका क्रममा दुख दिने गरेको गुनासो गर्ने गरेका छन् ।