नेपालीलाई रुसी सेनामा पठाउने गिरोहबाट २७ लाख बरामद

नेपालीलाई रुसी सेनामा पठाउने गिरोहबाट २७ लाख बरामद


काठमाडौं । नेपाली नागरिकलाई रुसी सेनामा भर्ती गराउने गिरोहका १२ जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले दिपेन परियार, क्षितिज गिरी, सुभाष लामा, मनिष न्यौपाने, रोजल महर्जन, हरिबहादुर विश्वकर्मा, ईश्वर अधिकारी, गोकर्ण अर्याल, सुजता दाहाल, सन्तोष अधिकारी, सन्तोष नेपाल र द्रोण डाँगीलाई आज सार्वजनिक गरेको हो । उनीहरु फरक फरक गिरोहका रहेका प्रहरीले जनाएको छ ।

उनीहरूबाट प्रहरीले रुसी सेनामा पठाउन तयार अरू नेपालीहरूको पासपोर्ट, पैसासहित अन्य कागजपत्र समेत बरामद गरेको छ । उनीहरूको साथबाट ४३ वटा पासपोर्ट नियन्त्रणमा लिइएको छ ।

पक्राउ पर्ने सुजता दाहालको कार्यालयबाट १४ लाख र ईश्वर अधिकारीको कार्यालयबाट १३ लाख रुपैयाँ बरामद गरिएको परिसर प्रमुख एसएसपी भूपेन्द्र खत्रीले जानकारी दिए । पक्राउ परेका हरिबहादुर विश्वकर्मा पूर्वप्रहरीसमेत रहेका थिए । उनले १८ जना रुस पठाइसकेको स्वीकार गरेका एसएसपी खत्रीले बताए ।

रुस युक्रेन युद्धपछि सेनाको बढी माग भएको समयमा गिरोहले नेपाली नागरिक पठाउने गरेको अनुमान प्रहरीले गरेको छ । यद्यपी, थप विवरण खुल्न बाँकी रहेको एसएसपी खत्रीले बताए ।