सोती घटनामा संलग्न २४ जनालाई जन्मकैद

सोती घटनामा संलग्न २४ जनालाई जन्मकैद


काठमाडौँ । रुकुम पश्चिमको सोती घटनामा संलग्न रहेका २४ जनालाई जिल्ला अदालत रुकुम पश्चिमले जन्मकैदको सजाय सुनाएको छ ।

साढे तीन वर्षअघि चौरजहारी नगरपालिका–८ सोती गाउँमा अन्तरजातीय प्रेमसम्बन्धको विषयलाई लिएर नवराज विकसहित ६ जनाको हत्या भएको थियो । सो घटनासँग सम्बन्धित कर्तव्य ज्यान र जातीय छुवाछूतको मुद्दामाथि रुकुम पश्चिम जिल्ला अदालतका न्यायाधीश खड्गबहादुर केसीको इजलासले आज फैसला गरेको हो ।

जिल्ला अदालत रुकुम पश्चिमका सूचना अधिकारी गोविन्दप्रसाद कोइरालाले पूर्पक्षका लागि कारागारमा रहेका २३ जना र बाहिर तारिखमा रहेका ११ जना मध्ये एक जनालाई जन्मकैदको सजाय सुनाइएको जानकारी दिए ।

नवराजका बुबा मुनलाल नेपालीको जाहेरीका आधारमा दोषी ठहर हुनेमा चौरजहारी नगरपालिका–८ का तत्कालिन वडाध्यक्ष डम्बरबहादुर मल्ल लगायत छन् ।

प्रेमिका अर्थात केटी र उनकी आमालाई जातीय छुवाछुतको कसुरमा २/२ वर्ष कैद र ५०/५० हजार जरिवाना सुनाइएको छ । घटनामा संलग्नताको आरोप लागेका ८ जनाले भने सफाइ पाएका छन् ।

२०७७ जेठ १० गते जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका २१ वर्षीय नवराज विक आफ्ना साथीहरू लिएर मल्ल थरकी प्रेमिकालाई भगाएर बिहे गर्न सोतीगाउँ पुगेका थिए । उनीहरूमाथि स्थानीयले आक्रमण गर्दा नवराजसहित ६ जनाको ज्यान गएको थियो भने अरू १२ जना घाइते भएका थिए ।

उनीहरूको शव दुई सातासम्मको खोजीपछि भेरी नदी किनारमा भेटिएको थियो । घटनामा नवराजसहित उनका साथीहरू सन्दीप विश्वकर्मा, टीकाराम सुनार, गणेश बुढा, लोकेन्द्र सुनार र गोविन्द शाहीको ज्यान गएको थियो ।