६ .४ म्याग्निच्युडको भूकम्पमा जाजरकोट र रुकुम पश्चिममा ठूलो मानवीय क्षति

६ .४ म्याग्निच्युडको भूकम्पमा जाजरकोट र रुकुम पश्चिममा ठूलो मानवीय क्षति

कहिरन

शुक्रबार राति जाजरकोटकाे रामीडाँडालाई केन्द्र बनाएर गएकाे ६.४ म्याग्निच्युडको भूकम्पमा जाजरकोट र रुकुम पश्चिममा ठूलो मानवीय क्षति पुगेको छ ।

प्रधानमन्त्री कार्यालयका अनुसार, जाजरकाेटमा ९२ र रुकुम पश्चिममा ३६ जनाकाे मृत्यु भएकाे हाे । दुवै जिल्लामा १ सय २८ जनाकाे मृत्यु हुँदा १ सय ४० जना घाइते भएका छन् ।

जाजरकोटकाे  भेरी नगरपालिकामा ३५ जनाको मृत्यु भएको छ । नगर प्रमुख चन्द्र प्रकाश घर्तीले  हालसम्म ३० जनाको मृत्यु पुष्टि भएकाे बताए । उनका अनुसार, पाँच जनाको शव रिम्नामा राखिएको छ ।

सबैभन्दा बढी क्षती वडा नम्बर १ र ३ मा भएको उनले बताए । भेरी करिडोर लगायतका सडकहरु अवरुद्ध भएका कारणले घाइतेको उद्धार गर्न समस्या भएको उनले बताए ।

‘मैले पाएको प्रारम्भिक जानकारीअनुसार भेरी नगरपालिकामा मात्रै झण्डै एक सयभन्दा बढीले ज्यान गुमाएका हुन सक्छन्’, नगर प्रमुख घर्तीले शिलापत्रसित भने ।

उद्धार कार्यलाई तीव्रता दिइएको बताउँदै उनले हेलिकाेप्टर आएपछि मात्रै एकिन तथ्यांक बताउन सकिने बताए । नगर क्षेत्रमा रहेका अधिकांश घरहरूमा क्षति पुगेकाे घर्तीले जानकारी दिए ।

यस्तै, नगलगाड नगरपालिकामा उपप्रमुख सरिता सिंह सहित ५० बढीले ज्यान गुमाएका छन् । नलगाड नगरपालिकाका नगर प्रमुख डम्बरबहादुर रावतका अनुसार, हालसम्म ५० जनाभन्दा बढीकाे मृत्यु भएकाे पुष्टि गरे । उनका अनुसार, वडा नम्बर १ मा सबैभन्दा बढी मानवीय क्षति भएको छ । यहाँ ३० देखि ३५ जनाकाे मृत्यु भएको उनको भनाइ छ ।

भूकम्पका कारण ठाउँ-ठाउँमा सडक अवरुद्ध भएको र टेलिफाेनले काम नगरेकाले उद्धारमा कठिनाई भएको छ ।  यसले घटनाको एकिन विवरण संकलनमा समस्या भएको पनि नगर प्रमुख रावतले बताए ।

रुकुम पश्चिमा भूकम्पबाट ३६ जनाको मृत्यु भएको छ भने ८५ बढी घाइते भएका छन्  । जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिका डीएसपी नमराज भट्टराईले हालसम्म ३६ जनाको मृत्यु भएको बताए ।

उनका अनुसार, ८५ जनाभन्दा बढी घाइते भएका छन् । रुकुम पश्चिमका आठबिसकोट नगरपालिका, चौरजहारी नगरपालिका र सानीभेरी गाउँपालिका भूकम्पले बढी प्रभावित भएका छन् । भूकम्पले कारणले घर र गोठहरू भत्किएका छन् भने सडकहरू पनि अवरुद्ध भएका छन् ।

जाजरकोट भूकम्पमा नलगाड नगरपालिकाकी उपमेयर सरिता सिंहको मृत्यु

उद्दार, खोज र राहतका लागि स्वयं  प्रधानमन्त्री पुष्पकमल दाहाल भूकम्प प्रभावित क्षेत्र प्रस्थान