एसएसबी संग संयुक्त रुपमा सीमा स्तम्भ मर्मत सम्भार तथा रंगरोगन सुरु गर्दै सशस्त्र प्रहरी

एसएसबी संग संयुक्त रुपमा सीमा स्तम्भ मर्मत सम्भार तथा रंगरोगन सुरु गर्दै सशस्त्र प्रहरी

कहिरन

नेपाल भारत सीमा दशगजामा पर्ने सीमास्तम्भको मर्मत तथा रंगरोगजनको काम सुरु भएको छ ।

सशस्त्र प्रहरी र भारतीय सीमा सुरक्षा बल एसएसबीले संयुक्त रुपमा दशगजामा रहेको सीमा स्तम्भको मर्मत सम्भार तथा रंगरोगन सुरु गरेको हो ।

बिहीबार धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका ६ जटही स्थित १८५ नम्बर सहायक सीमा स्तम्भको मर्मत तथा रंगरोगन गर्दै कार्यको थालनी भएको छ । धनुषामा १५५ सीमास्तम्भ रहेको धनुषाका सशस्त्र प्रहरीका प्रमुख एसपी दिनेश मल्लले जानकारी दिए ।

मधेश प्रदेशमा नेपाल र भारत सीमा दशगजामा ४ हजार भन्दा बढी सीमास्तम्भको मर्मत तथा रंगरोगन गर्ने कार्य सुरु भएको मधेश प्रदेश सशस्त्र प्रहरी प्रमुख डिआइजी दिपेन्द्र साहले जानकारी दिए । विजोर नम्बरको सीमास्तम्भ नेपालले र जोर नम्बरको भारतीय एसएसबीले गर्ने उनले बताए ।

उनका अनुसार २०७७ साउनमा जिर्ण भएका सिमा स्तम्भ मर्मतसम्भार गर्ने मन्त्री परिषदले निर्णय गरेको थियो । हराइरहेका सिमास्तम्भ निर्माणबारे नेपाल र भारतीय पक्षबीच छलफल भइरहेको उनले बताए ।

सो अवसरमा अवसरमा नगराइन नगरपालिकाका मेयर विनय यादव, मुखियापट्टि मुसहरनिया गाउँपालिकाका अध्यक्ष जयकुमार यादव, भारतीय एसएसबीका डिपुटी कमाण्डेन्ट सन्तोष निमोरिया लगायतको उपस्थिति रहेको थियो ।