गाजाका लागि सहायता सामग्री बोकेका ट्रकहरु इजिप्टमा रोकिए

गाजाका लागि सहायता सामग्री बोकेका ट्रकहरु इजिप्टमा रोकिए

कहिरन

एजेन्सी । करिब तीन हप्तादेखि इन्धन, खाना, पानी र चिकित्सा आपूर्तिबाट वञ्चित भएका २३ लाख प्यालेस्टाइनीका लागि सहायता सामग्री पठाइएका ट्रकहरु इजिप्टमा रोकिएका छन् ।

गाजा पट्टीमा प्रवेश गर्नका लागि राहत सहायता बोकेका सयौं ट्रकहरू इजिप्टको राफा क्रसिङमा अड्किएका हुन् ।

गाजा प्रवेश गर्ने सामग्रीसहितका ट्रकहरूको संख्या बढेको भएपनि ट्रकहरु गाजा प्रवेशका लागि कुरिरहेको जनाइएको छ । दैनिक आवश्यक पर्ने एकसय ट्रक सामान अझै कम रहेको बताइएको छ ।

इजरायल—हमास द्वन्द्व शुरु भएको दुई हप्तापछि अक्टोबर २१ मा रफाह हुँदै मानवीय सहायता बोकेका करिव २ सय ५० ट्रक प्यालेस्टिनी क्षेत्रमा प्रवेश गरेका छन् ।

अल्जेरिया, कुवेत, इराक, टर्किस र संयुक्त अरब इमिरेट्स, बहराइन, ट्युनिसिया, फ्रान्स, डेनमार्क, इटाली, बेल्जियम, भेनेजुएलाका साथै संयुक्त राष्ट्र संघका एजेन्सीहरूलगायत धेरै देशहरूले राहत सामग्री बोकेका विमानहरू पठाइसकेका छन् ।

जारी इजरायल—हमास द्वन्द्वमा दुवै पक्षका आधिकारिक तथ्याङ्कअनुसार ८ हजार ५ सय २५ प्यालेस्टाइनी र एक हजार ४ सय इजरायली मारिएका छन् । इजरायली रक्षा बलका अनुसार हमासले गरेको आक्रमणमा जम्मा २ सय ३९ जनालाई बन्धक बनाएको थियो ।