‘हामी सबै मिलेर काम गर्यौँ भने पक्षाघातमाथि विजय गर्न सकिन्छ’

‘हामी सबै मिलेर काम गर्यौँ भने पक्षाघातमाथि विजय गर्न सकिन्छ’


काठमाडौँ । ‘हामी सबै मिलेर काम गर्यौँ भने पक्षाघातमाथि विजय गर्न सकिन्छ’ भन्ने नाराका साथ आज विश्व पक्षाघात दिवस नेपालमा पनि विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । प्रत्येक वर्ष अक्टोबर २९ अर्थात् आजका दिन पक्षाघात दिवस मनाइने गरिन्छ ।

एक जटिल शारीरिक अवस्थाको रूपमा रहेको पक्षाघात मस्तिष्कको कुनै भागमा रक्तसञ्चार नभएमा हुने गर्दछ । मस्तिष्कमा अक्सिजन तथा पोषक तत्वको कमी भएमा रक्त धमनीमा रगत जम्मा भएर अवरोध हुँदा मष्तिष्कले आफ्नो नियन्त्रण गुमाउँछ । यसलाई नै पक्षाघात भनिन्छ ।

पक्षाघातको समयमै यसको उपचार नगरे मस्तिष्क सधैँका लागि खराब हुनाका साथै व्यक्तिको मृत्युसमेत हुनसक्छ । सन्तुलन गुम्नु, अनुहार बाङ्गो हुनु, आँखाको ज्योति गुम्नु पक्षाघातका लक्षण हुन् ।

नेपाल पक्षाघात सङ्घका अध्यक्ष डा. राजु पौडेल विश्वभर बर्सेनि एक करोड ३० लाखभन्दा बढी व्यक्तिमा पक्षाघात हुने गरेको बताउछन् । हरेक छ सेकेण्डमा एक जना र चार जनामा एक जनालाई पक्षाघात हुने गरेको छ ।

वरिष्ठ न्यूरोलोजिस्टसमेत रहेका डा. पौडेलले पक्षाघात भएकामध्ये एकतिहाइले अकालमा ज्यान गुमाउनुपरेको भन्दै यसलाई भयावह हुन नदिन सरकारले विशेष ध्यान दिनुपर्ने बताए । नेपालमा अहिले पक्षाघात भएकामध्ये १० प्रतिशतको मृत्यु हुने गरेको तथ्याङ्क छ ।