फिर्केखोलामा बनेका संरचना हटाउन पोखरा महानगरको ३५ दिने सूचना

फिर्केखोलामा बनेका संरचना हटाउन पोखरा महानगरको ३५ दिने सूचना


काठमाडौँ । पोखरा महानगरपालिकाले बजार क्षेत्रबाट बग्ने फिर्केखोलाको खोलाघरभित्र बनेका सबै प्रकारका संरचना हटाउने भएको छ ।

पोखरा–१८ को अधेरीकुनादेखि सुरु भएर फेवातालमा मिसिने फिर्केखोलामा मापदण्डविपरीत निर्माण गरिएका संरचना हटाउन महानगरले ३५ दिने सार्वजनिक सूचना जारी गरेको हो ।

यसअघि महानगरबाट खटिएको प्राविधिक टोलीले स्थलगत नापजाँच गरी पोल गाडिएको भन्दाभित्र पर्ने स्थायी तथा अस्थायी संरचना हटाइने महानगरले जनाएको छ ।

गत साउन पहिलो साता महानगरले फिर्केखोलाको प्राकृतिक बहाव पत्ता लगाउने प्रयोजनका लागि एक प्राविधिक समिति बनाएर सीमाङ्कन सुरु गरेको थियो ।

समितिको प्रतिवेदनअनुसार फिर्केखोलाघरमाथि स्थायीदेखि अस्थायी प्रकृतिका एक सय ६० संरचना निर्माण गरेको पाइएको छ । फिर्केखोला नै मिचेर ९७ वटा अस्थायी संरचना र ३५ स्थायी संरचना निर्माण गरेको पाइएको छ । खोलामाथि १० अस्थायी र १८ वटा स्थायी प्रकृतिका संस्थागत संरचना निर्माण गरिएको प्रतिवेदनमा उल्लेख छ ।

महानगरले अतिक्रमित संरचना नहटाएमा महानगरपालिका आफैँले हटाउने र सो क्रममा लाग्ने लागतसमेत सम्बन्धित व्यक्ति वा संस्थाले सरकारी बाँकीसरह भुक्तानी गर्नुपर्ने जनाएको छ । महानगर प्रमुख धनराज आचार्यले सीमाङ्कन समितिको प्रतिवेदनलाई कार्यान्वयन गर्न लागिएको र त्यसक्रममा संरचना हटाइने बताए ।