आज कोजाग्रत पूर्णिमा, जाग्राम बसेर दशैंको समापन गरिदै

आज कोजाग्रत पूर्णिमा, जाग्राम बसेर दशैंको समापन गरिदै


काठमाडौँ । यस वर्षको बडादशैं आज सकिँदैछ । दुर्गा पक्ष अर्थात् बडादशैँ पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजाआराधना सहित रात्रिमा जाग्राम बसेपछि आजदेखि दशैं समापन हुँदैछ ।

आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवीमहालक्ष्मीको पूजाआराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै १५ दिनलामो बडा दशैँ पर्व समापन हुन्छ ।

शास्त्र अनुसार गर्नुपर्ने सबै बलिपूर्ति अर्थात् अखिल बलिपूर्तिको काम भने शुक्रबार नै समापन भएको नेपालपञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

अखिल बलिपूर्ति भएसँगै विजयादशमीदेखि सुरु भएको नवदुर्गाको प्रसाद स्वरुप टीका र जमरा लगाई मान्यजनबाट आशीर्वाद लिने क्रम पनि शुक्रबार नै समाप्त हो । शुक्रबार नै जमरालाई नजिकको नदी, तलाउ, पोखरी आदि पवित्र तीर्थस्थलमा लगी सेलाइएको छ । लोकव्यवहारमा भने कोजाग्रत पूर्णिमाका दिनसम्म नै नवदुर्गाको प्रसादलगाएर आशीर्वाद थाप्ने गरिन्छ ।

आश्विन शुक्लप्रतिपदाका दिनदेखि शुरु भएको दुर्गा पक्ष अर्थात् दशैँ पर्व आम नेपालीले आ–आफ्नो गच्छेअनुसार मनाउँछन् । आजको दिन सायंकालमा महालक्ष्मीको पूजाआराधना गरी राती जाग्राम बसेको मानिसका घरमा पृथ्वी भ्रमण गर्दै हिंडेकी महालक्ष्मी प्रवेश गरी धन, ऐश्वर्य दिई सम्पन्न बनाउँछिन् भन्ने धार्मिक विश्वासका आधारमा यो पर्व मनाउन सुरु गरिएकोे समितिका अध्यक्ष प्रा.श्रीकृष्ण अधिकारी बताउछन् ।