पूर्वअर्थमन्त्री शर्मामाथि छानबिन गर्न गठित समितिले पर्सि शुक्रबार प्रतिबेदन बुझाउने

पूर्वअर्थमन्त्री शर्मामाथि छानबिन गर्न गठित समितिले पर्सि शुक्रबार प्रतिबेदन बुझाउने

कहिरन समाचार

साउन ११, काठमाडौँ । पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित समितिले पर्सि शुक्रबार प्रतिबेदन बुझाउने भएको छ । थपिएको म्याद भोलि सकिने भएपछि आज लगातार ६ घण्टा समितिको बैठक बसेको समितिका सचिव सुरेन्द्र अर्यालले जानकारी दिए । भोलि अन्तिम दिन राति ११ बजेसम्म काम गरेर प्रतिबेदन सकेर पर्सि प्रतिबेदन बुझाउने तयारी रहेको उनले बताए ।

उनका अनुसार औपचारिक र अनौपचारिकरुपमा छलफल भइरहेकाले सर्वसम्मत प्रतिबेदन बनाउने प्रयास भइरहेको छ । हिजो नेपाल प्रहरीको फरेन्सिक ल्याबबाट प्राप्त रिपोर्ट हेरेर विज्ञको सुझाब लिएको समितिले आजदेखि प्रतिवेदन लेख्न थालेको हो । भोलि साढे १२ बजे औपचारिक बैठक बस्नुअघि सर्वसम्मत प्रतिबेदन तयार गर्न सांसदहरुबीच अनौपचारिक छलफल पनि हुने उनले बताए ।

आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणका क्रममा तत्कालीन अर्थमन्त्री शर्माले जेठ १४ गतेको मध्यराति अर्थमन्त्रालयमा दुईजना अनाधिकृत व्यक्तिलाई प्रवेश गराएर करको दर हेरफेर गरेको आरोप छ ।