दर्ता नभएका मोबाइल अब १५ दिनभित्रमा ‘ब्लक’ : दुरसञ्चार प्राधिकरण

दर्ता नभएका मोबाइल अब १५ दिनभित्रमा ‘ब्लक’ : दुरसञ्चार प्राधिकरण

कहिरन

काठमाडौं । दर्ता नभएका मोबाइलहरु अब १५ दिनभित्रमा ‘ब्लक’ हुने दुरसञ्चार प्राधिकरणले जनाएको छ । विदेशबाट ल्याइएका मोबाइल सेट तोकिएको समयभित्र दर्ता नभए मोबाइल फोन ब्लक गर्ने तयारी प्राधिकरणले गर्दैछ ।

नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्ट (एमडीएमएस)मा दर्ता नभएका मोबाइल फोन नचल्ने दुरसञ्चार प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले बताउनुभयो । उहाँले नेपालमा किनेका मोबाइल फोन व्यापारीले आफैं दर्ता गर्ने भएकाले दर्ता गर्न नपर्ने र विदेशबाट ल्याएका मोबाइल फोन दर्ता गर्नुपर्ने बताउनुभयो ।

प्राधिकरणले सूचना जारी गर्दै अबको १५ दिन अर्थात कार्तिक १९ गते पछि एमडीएमएस प्रणालीमा दर्ता नभएका फोनमा सीम कार्ड नचल्ने र ब्लक गरिने जनाएको छ । प्राधिकरणले यसअघि पनि पटकपटक एमडीएमस लागु गर्ने प्रयास गरे पनि सफल भएको थिएन । करिब ५० लाखको संख्यामा रहेका फोन एमडीएमएस प्रणालीमा दर्ता छैनन् ।

फोन दर्ता गर्न आइफोन र एक लाखमाथिका फोनका लागि १० हजार, स्मार्टफोनका लागि ३ हजार र अन्यका लागि २सय रुपैयाँ शुल्क तोकेर आईएमईआई नम्बर एमडीएमएस प्रणालीमा दर्ता गर्न सकिने व्यवस्था सरकारले गरेको छ । तर, निकै कम संख्यामा मात्रै फोन दर्ता भएको प्राधिकरणले जनाएको छ ।

गत वर्षको भदौसम्म नेपालमा रहेका सबै फोनको एमडीएमएस नम्बर प्राधिकरणले निःशुल्क दर्ता गरिदिएको थियो । विदेशबाट फोन ल्याउनेका लागि पनि दर्ता गर्न सकिने व्यवस्था छ । २०६९ साल भाद्र महिना भन्दा अगाडि नेपाल ल्याइएका मोबाइल दर्ता गर्न नपर्ने त्यस पछि भित्रिएका सेटलाइ भने दर्ता अनिवार्य भएको प्रवक्ता पौडेलले बताउनुभयो ।

भन्सारबाट आएका सबै मोबाइल एमडीएमएसमा दर्ता हुन्छन् । ती बाहेक कालोबजारीबाट भित्रिएका फोनको आईएमईआई नम्बर एमडीएमएसमा दर्ता नहुने भन्दै प्राधिकरणले त्यस्ता फोन ब्लक गर्न यो प्रणाली सञ्चालनमा ल्याएको थियो ।

गत वर्षको भदौ यता भित्रिएका करिब ५० लाख फोन एमडीएमएसमा दर्ता छैनन् । तीनै फोन अब नचल्ने प्राधिकरणले जनाएको छ । दूरसञ्चार प्राधिकरणका एक अधिकारीले १५ दिनपछि एमडीएमएसमा दर्ता नभएका फोन ब्लक गर्ने सूचना आएको बताए । मोबाइलको गैरकानुनी आयात निरुत्साहित गर्न यो प्रणालि लागू गर्न लागिएको प्राधिकरणले जनाएको छ ।