पूर्वराजा शाहद्वारा विजया दशमीको उपलक्ष्यमा शुभकामना सन्देश

पूर्वराजा शाहद्वारा विजया दशमीको उपलक्ष्यमा शुभकामना सन्देश

कहिरन

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले विजया दशमीको उपलक्ष्यमा देश विदेशमा रहेका नेपालीहरुलाई शुभकामना सन्देश दिनुभएको छ ।

असत्य माथि सत्यको जितको रुपमा रहेको चाड बडा दशैंले सहि सत्य देवी शक्तिको संवद्र्धन गर्न प्रेरणा प्रदान गरुन भन्ने शुभकामना दिनुभएको छ ।

शुभकामना सन्देशमा पूर्वराजा शाहले अग्रगतिको नाममा भनेर आएको परिवर्तनले केही गर्न नसकेको भन्दै देश झन झन खराबी तर्फ उन्मुख भएको स्मरण गर्दै व्यक्तिगत स्वार्थ, दलीय भागबण्डा, आपसी राजनीतिक द्धन्द, चरम भ्रष्टाचार र बेथितिबाट जनता आजित भएको अवस्थामा जनताले उत्साह, उल्लास र उमंगका साथ चाडबाड मनाउन पाउने वातावरण नरहेको स्पष्ट पार्नुभयो ।

नेपालीको जीवन यापन पनि कष्टकर बन्दै गएको भन्दै उहाँले जनताले खोजेको र रोजेको सही पात्रबाट जनहितमा गतिलो काम अघि बढ्न पाउनु पर्छ भन्नुभएको छ । हिमाल, पहाड र तराइमा बसोबास गर्ने जो विविध वर्ग, समुदायमा रहेतापनि हामी सबै नेपाली भएको भन्दै सबै नेपाली माली बनेर साझा फूलवारीलाई सजाउनु, भन्ने सन्देश दिनुभएको छ । साथै उहाँले कसैले कसैप्रति निषेध र निन्दा नगरी आस्था उपर उदारभाव राख्न हाम्रो प्रयत्न हुनै पर्छ भन्नुभएको छ ।

डेढ दशक यताका अवधिमा एकतिहाइ जनसंख्या देशबाहर रहेको स्मरण गर्दै उहाँले विदेशिएका र देशमै रहेबसेका दुबैथरीमा विछोडको पीडा महशुस भएको प्रतिक्रिया दिनुभएको छ ।