एनआरएन चुनाव , बद्री केसी निर्वाचित ,सिस्टम ह्याक गरी जिताइएको प्रतिस्पर्धीको आरोप

एनआरएन चुनाव , बद्री केसी निर्वाचित ,सिस्टम ह्याक गरी जिताइएको प्रतिस्पर्धीको आरोप

कहिरन

काठमाण्डौ । गैरआवासीय नेपाली संघको ११ औं महाधिवेशनबाट बद्री केसी निर्वाचित भएको घोषणा भएपछि भाँडभैलो भएको छ ।

केसीसँग प्रतिस्पर्धा गरेका अन्य दुई उम्मेदवारले अनलाइन भोटिङ प्रणाली कब्जामा लिएर चुनावमा धाँधली गरिएको आरोप लगाएका छन् ।

महासचिवका एक उम्मेदवार डा. केशव पौडेलको काठमाण्डौबाट झरेको मत सून्य देखाइएपछि उम्मेदवारहरुले मत परिणाममाथि शंका गरेका हुन् । आफैले आफैलाई भोट नहाल्ने अबस्था हुन नसक्ने भन्दै घोषणा गरिएको मत परिणामप्रति आक्रोश ब्यक्त भएको हो ।

निर्वाचनमा बद्रि केसी १३७८ मत ल्याएर बिजयी भएको घोषणा गरिएको छ । यस्तै आरके शर्माले १२८१ र महेश श्रेष्ठले १२२५ मत प्राप्त गरेको निर्वाचन समितिले घोषणा गरेको छ ।

मत परिणाम घोषणासँगै शर्मा र श्रेष्ठले नतिजा स्वीकार नगर्ने बताएका छन् ।

मतदातालाई सम्बोधन गर्दै प्रतिस्पर्धी श्रेष्ठले भने– यो निर्वाचन रद्द हुनुपर्छ, त्यतिमात्र हैन यसमाथि गम्भिर छानविन हुनुपर्छ र दोषीलाई कडा कारबाही हुनुपर्छ ।’ निर्वाचित भनिएको नयाँ कार्यसमिति भंग गरेर नयाँ निर्वाचन गराउनुपर्ने श्रेष्ठले बताए ।

अर्का प्रत्यासी आरके शर्माले अब गैरआवासीय नेपाली संघ सून्यमा गएको भन्दै परराष्ट्र मन्त्रालयको हस्तक्षेपपछि मात्र अगाडी बढ्ने बताए । अनलाइन भोटिङ सिस्टम ह्याक गरी मत परिणाम उल्टाइएको उनको भनाई छ ।

उपाध्यक्षमा जितेका खगेन्द्र न्यौपानेले आफुलाई जिताइएको भएपनि यो जितलाई स्वीकार नगर्ने बताए । उनले निर्वाचनमा धाँधली गरिएको दावी गरे ।

डा. बद्री केसी दुई बर्षयता एनआरएनमा अध्यक्ष थिए । त्यसअघि उनी उपाध्यक्ष र महासचिव थिए । महासचिव हुँदादेखि नै उनलाई सूचना प्रविधिको दुरुपयोग गरी महाधिवेशन प्रतिनिधिको डाटावेश र मत परिणाममा चलखेल गरेको आरोप लाग्दै आएको थियो । प्रतिस्पर्धी दुई उम्मेदवारले यसपटक प्रतिनिधि छनौट र अनलाइन भोटिङमा बद्रीले धाँधली गरेको आरोप लगाउँदै आएका थिए । बहालवाला अध्यक्ष भएका कारण महाधिवेशन र निर्वाचन प्रकृया मूलतः बद्रीको नियन्त्रणमा थियो ।

संघको महासचिवमा बद्री पक्षकै गौरीराज जोशी निर्वाचित भएको भनिएको छ । निर्वाचन समितिका अनुसार उपाध्यक्षमा हेमराज शर्मा, रोविन शेरचन, रामशरण सिंखडा, खगेन्द्र न्यौपाने, राज रेग्मी र विनोद श्रेष्ठ निर्वाचित भएका छन् ।
उपमहासचिवमा सोम सापकोट र प्रविण गुरुङ निर्वाचित भएका छन् ।