धौलागिरि अस्पतालमा थपियो ५ डायलासिस मेसिन

धौलागिरि अस्पतालमा थपियो ५ डायलासिस मेसिन


बागलुङ । धौलागिरि अस्पताल बागलुङलाई थप ५ डायलाइसिस मेसिन उपलब्ध गराइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पताललाई मेसिन उपलब्ध गराएको हो ।

मिर्गौलाको रोगबाट पीडित बिरामीलाई सहज रुपमा डायलासिस सेवा दिन मन्त्रालयसँग माग गरेपछि उपलब्ध गराएको बागलुङ नगरपालिकाका नगरप्रमुख वसन्तकुमार श्रेष्ठले जानकारी दिए । उनले धौलागिरि अस्पतालसँगै बागलुङ नगर अस्पताललाई पनि मन्त्रालयले आवश्यक औषधी तथा उपकरण गराउने बताए ।

पछिल्लो समय धौलागिरि अस्पतालमा सेवासुविधा सहज रुपमा प्रदान हुन थालेपछि बिरामीको चाप पनि उत्तिकै बढेको हुँदा सेवालाई थप प्रभावकारी बनाउनका लागि आवश्यक उपकरण माग गरिएको प्रमुख श्रेष्ठको भनाइ छ ।

‘बागलुङका धेरै बिरामी पहिले पोखरा काठमाडौँ पुगेर उपचारका लागि लाखौँ खर्च गर्नुपर्ने बाध्यता थियो तर अहिले त्यो बाध्यता हटेको छ । सेवा लिनेको सङ्ख्या बढेपछि उपकरण बढी आवश्यक पर्ने देखियो’, उनले भने, ‘मन्त्रालयमा पुगेर मन्त्रीसँग माग गरेपछि उहाँले ५ थान डायलासिस मेसिन र अन्य उपकरण उपलब्ध गराउनु भएको छ, उहाँ पनि केही दिनमा बागलुङ आएर यहाँको अवस्था बुझ्नु हुनेछ ।’

धौलागिरि अस्पताल बागलुङ मेडिकल सुपरिटेन्डेन्ट डाक्टर रविरञ्जन प्रधानले हाल ४० जना मिर्गौला रोगपीडित बिरामीले नियमित सेवा लिइरहेको बताए ।

दैनिक ३ चरणमा डायलासिस सेवा दिने गरेको भन्दै थप ५ वटा मेसिन सञ्चालनमा आएपछि बिरामीले घण्टौँ कुर्नुपर्ने अवस्थाको अन्त्य हुने डा प्रधानले बताउँछन् । अस्पतालमा हाल पाँचवटा डायलासिस मेसिन सञ्चालनमा रहेको उनी बताउँछन् ।

धौलागिरि अस्पतालमा २०७६ सालदेखि निरन्तर डायलासिस सेवा प्रवाह हुँदै आएको डा प्रधानले बताए । पछिल्लो समय अस्पतालमा सेवा लिने बिरामीको सङ्ख्या पहिलेको तुलनामा करिब दोब्बर भएको अस्पतालले जनाएको छ ।