ज्येष्ठ नागरिकसम्बन्धी कानुनको प्रभावकारी कार्यान्वयनको माग

ज्येष्ठ नागरिकसम्बन्धी कानुनको प्रभावकारी कार्यान्वयनको माग


काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले ज्येष्ठ नागरिकको मर्यादित र सम्मानजनक जीवनका लागि व्यवस्था गरिएका कानुनको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने बताएका छन् ।

तेत्तीसौँ अन्तरराष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा समाज कल्याणपरिषद् र राष्ट्रिय ज्येष्ठ नागरिक कोषको आयोजनामा ‘शताब्दी व्यक्तित्व’ सम्मान तथा ‘शताब्दी व्यक्तित्व पुस्तक’ विमोचन कार्यक्रममा उनले ज्येष्ठ नागरिकलाई सम्मानसँगै संरक्षण गर्नुपर्नेमा जोड दिएका हुन् ।

कार्यक्रममा सभामुख घिमिरेले नेपालमा ज्येष्ठ नागरिकको सम्मान र माया गर्ने प्रक्रिया विस्तारै विकास हुँदै गएको बताए । उनले कोष स्थापना हुनेबित्तिकै ज्येष्ठ नागरिकका लागि महत्वपूर्ण काम गर्दै आएको र शताब्दी व्यक्तित्वलाई सम्मान गर्ने काम प्रभावकारी भएको बताए ।

कार्यक्रममा सभामुख घिमिरेले शताब्दी व्यक्तित्व मानव अधिकारवादी डा. गौरीशङ्करलाल दास, टङ्कबहादुर थापा, दोस्रो विश्वयुद्ध लडेका चन्द्रबहादुर सुनुवार, इन्द्रमाया पौडेल, कृष्णथकु ग्वाछा र सानुमान शाक्यलाई सम्मान गरेका थिए ।

पूर्वपरराष्ट्रमन्त्री डा. विमला राई पौडेलले सहज बुढ्यौली जीवनमा विगतमा भए‚ गरेका कुराको स्मरण गराउने र मर्यादित जीवनका लागि सबैले पहल गर्नुपर्नेमा जोड दिइन् ।

शताब्दी पुरुष गौरीशङ्कर लाल दासले संविधानमा ज्येष्ठ नागरिकलाई विशेष व्यवस्था गरिने भनिए पनि कानुन प्रभावकारी कार्यान्वयन हुन नसक्दा ज्येष्ठ नागरिकले पाउने सुविधा पाउन नसकेको अनुभव सुनाए ।

वरिष्ठ कलाकार तथा राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घका पूर्वअध्यक्ष मदनदास श्रेष्ठले ज्येष्ठ नागरिकको हक अधिकार सुनिश्चित गर्न सरकारले बनाएको कानुन कार्यान्वयन गर्नुपर्ने बताए । नागरिकता अभावका कारणले केही ज्येष्ठ नागरिकले वृद्धभत्ता पाउनबाट वञ्चित भएको उनले जानकारी गराए ।

एजिङ नेपालका निर्देशक प्रकाश गौतमले ज्येष्ठ नागरिकलाई सबैले माया, सम्मान र सहयोग गर्नुपर्नेमा जोड दिए । कोषका सभापति वसन्तराज कार्कीले सय वर्ष पुगेका व्यक्तिलाई ‘विशिष्ट नागरिक’ घोषणा गरी विशेष सेवा दिन माग गरे ।

कार्यक्रममा ‘शताब्दी व्यक्तित्व’ नामक कृतिको सभामुख घिमिरेले सार्वजनिक गरेका थिए । पुस्तकमा ६१ जना शताब्दी व्यक्तित्वका बारेमा लेखिएको छ ।