काठमाडौं महानगरभित्रका ३ सडकखण्ड आजदेखि एकतर्फी

काठमाडौं महानगरभित्रका ३ सडकखण्ड आजदेखि एकतर्फी

रासस

काठमाडौं । काठमाडौं महानगरपालिकाभित्रका ३ सडकखण्ड आजदेखि एकतर्फी सञ्चालन गरिएको छ ।

कमलादी मोडबाट प्रज्ञा भवन हुँदै घण्टाघर निस्किने सडक र दरबारमार्गस्थित महेन्द्र सालिकबाट कृष्ण पाउरोटी चोकभन्दा तल ९काठमाडौँ प्लाजा० पुग्ने सडक एकतर्फी सञ्चालन गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।

उनका अनुसार त्रिपुरेश्वरतर्फबाट काठमाडौँ–ललितपुर जोड्ने नयाँ पुल (विश्व निकेतन) हुँदै गुसिङगाल निस्किने सडक एकतर्फी बनाइएको छ ।

‘त्रिपुरेश्वरतिरबाट प्रवेश गर्न पाइए पनि ललितपुरतर्फबाट त्रिपुरेश्वरतिर आउँदा नयाँ पुल कटेर बायाँतर्फ मोडिएर आउनुपर्ने छ,’ भट्टले भने, ‘त्रिपुरेश्वरबाट ललितपुरतिर जाँदा मिलन टोल, नयाँ पुल हुँदै जानुपर्ने छ ।’

प्रज्ञाभवन हुँदै कमलादी मोडतर्फ आउन पाइने छैन र पुतली सडकबाट काठमाडौं प्लाजा हुँदै हात्तीसारतर्फको सडक खण्डमा अब काठमाडौं प्लाजाबाट बायाँ मोडिएर महेन्द्र सालिकतर्फ जान पाइने छैन ।

सडक एकतर्फी बनाइएको जानकारी दिनका लागि सडक क्षेत्रमा ट्राफिक प्रहरी र महानगरपालिकाका प्रहरी टोली खटाइएको प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक भट्टले बताए ।