गैरआवासीय नेपालीले पाए नागरिकता

गैरआवासीय नेपालीले पाए नागरिकता

भीम विश्वकर्मा

काठमाडौँ । सरकारले गैरआवासीय नेपालीलाई आजदेखि नागरिकता वितरण सुरु गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालुवाटारस्थित निवासमा आज विहान एनआरएनएका पदाधिकारीलाई नागरिकता दिएर वितरणको शुभारम्भ गरेका हुन् ।

गैरआवासयी नेपालीहरु विश्व सम्मेलनका लागि काठमाडौंमा भेला भएको मौकामा नागरिकता वितरण शुभारम्भ गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । कुल आचार्य र बद्री केसीलाई पहिलो गैरआवासीय नेपाली नागरिकता प्रधानमन्त्री प्रचण्डले वितरण गरे ।

गत जेठमा संशोधन भएको नागरिकतासम्बन्धी ऐनअनुसार नागरिकता नियमावली सरकारले यसअघि नै स्वीकृत गरेकाले गैरआवासीय नेपालीलाई नेपालीले नेपालको नागरिकता पाउने बाटो खुलेको हो ।

नागरिकतासम्बन्धी ऐनको दफा ७ (क) १ मा विदेशी मुलुकको नागरिकता प्राप्त गरी दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठनको सदस्य राष्ट्रबाहेकका देशमा बसोवास गरेको र साबिकमा वंशजको वा जन्मका आधारमा निज वा निजको बाबु वा आमा, बाजे वा बज्यै नेपालको नागरिक रही पछि विदेशी मुलुकको नागरिकता प्राप्त गरेको व्यक्तिले आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको उपभोग गर्न पाउने गरी गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्न सक्ने व्यवस्था छ ।

एनआरएन नागरिकता पाएकाहरुले राजनीति गर्न, सरकारी पदमा बस्न र भोट हाल्न पाउने छैनन् । तर उनीहरुले नेपालमा व्यवसाय गर्न र नेपालमा सम्पत्ति राख्न पनि पाउने व्यवस्था ऐनमा गरिएको छ ।

गैरआवासीय नेपालीले नेपाली नागरिकता लिनका लागि निवेदक व्यक्ति वा उनका आमा–बुवा, हजुरबुवा–हजुरआमा साविकमा नेपालको नागरिक रहेको प्रमाण पेस गर्नुपर्ने नियमावलीमा उल्लेख छ । विगतमा नेपाली नागरिकता लिएको भए त्यो त्याग गरेको प्रमाण, विदेशी मुलुकको नागरिकता भएको प्रमाण पनि आवश्यक पर्ने छ ।