नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

भीम विश्वकर्मा

काठमाडौँ । नवरात्रको तेस्रो दिन आज नवदुर्गाकी तेस्रो रूप चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदैछ । भयनाश, दुष्टप्रवृत्तिको नाश र आध्यात्मिक तथा आत्मिक शान्तिका लागि चन्द्रघण्टा देवीको आराधना गरिन्छ ।

विधिपूर्वक उनको आराधना गर्नाले सबै किसिमका बाधा व्यवधान हट्ने पनि विश्वास गरिन्छ । चन्द्रघण्टाको स्वरूप स्वर्णमय, शान्त र सौम्य भएको पुराणमा उल्लेख छ । शिरमा घण्टा आकारको चन्द्रमा भएकाले यिनको नाम चन्द्रघण्टा भनिएको हो । सिंहमाथि बसेकी यिनको १० हातमा खड्ग, तरवार, गदा, ढाल चक्र धनुषलगायत शस्त्र अस्त्र छन् ।

नवरात्रमा भगवती दुर्गाका नौ स्वरूपको पूजा आराधना गरिन्छ । प्रत्येक दिन एक–एक देवीको आराधना गरी नौ दिनमा नवरात्र अनुष्ठान पूरा गरिन्छ । पुराणअनुसार विभिन्न समयमा भगवती पार्वतीले लिएको रूपलाई नै नवदुर्गाका रूपमा पूजा आराधना गरिएको हो ।

नवरात्री मेलाको पहिलो दिन ब्रह्मायणी, दोस्रो दिन महेश्वरी, तेस्रो दिन कुमारी, चौथो दिन भद्रकाली, पाँचौँ दिन बाराही, छैटौँ दिन इन्द्रायणी, सातौँ दिन महाकाली, आठौँ दिन महालक्ष्मी, नवौँ दिन त्रिपुरासुन्दरी र अन्तिममा विजयादशमीको दिन पुनः ब्रह्मायणीमा भव्य मेला गर्दै दशैँको नवरात्री समापन गर्ने प्रचलन रहेको छ ।