४५ वर्षपछि यस वर्ष पचलि भैरब आजु जात्रामा यःसिँ ( लिंगो ) पुनः ठड्याईने

४५ वर्षपछि यस वर्ष पचलि भैरब आजु जात्रामा यःसिँ ( लिंगो ) पुनः ठड्याईने

कहिरन

 

काठमाडौँ । झन्डै चार दशक अघिबाट बन्द भएको पचली भैरवको यःसिँ ( लिंगो ) उठाउने परम्परा अन्तर्गत २०८० कार्तिक १ गते बुधबारका दिन पचली भैरब परिसरमा पुनः ठड्याईने भएको छ ।

टेकु मचलीमा ल्याइएको यःसिँ

चार दशक भन्दा लामो समयबाट रोकिएको यस यःसिँ ( लिंगो ) उठाउने जात्रा परम्परालाई पुनः निरन्तरता दिन गुठियारहरुको अनुरोधमा सम्बन्धित निकाय संग समन्वय गरि जात्रा ब्यबस्थापनको लागि आवश्यक पक्ष मिलाउने गरि हराएको परम्परालाइ पुनः जीवित गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले समेत विशेष चासो देखाएको थियो ।

लगभग ४५ वर्षपछि यस पटक पचलि भैरब आजु जात्रा शुभारम्भको यःसिँ काठमाडौँ महानगर पालिका टेकु रोड स्थित मचलिबाट पचलि सम्म तान्ने शुभ साइत यही असोज ३० गते मङ्गलबार साँझ ५:०० बजे र पचलिमा उठाउने शुभ साइत कार्तिक १ गते बुधबार बिहान ८:०० देखि ९:०० बजे सम्म हुने जात्रा व्यवस्थापन समितिले जनाएको छ।

जात्राका लागि २६ गते शुक्रबार साँखु स्थित जंगलबाट ४० फिट लामो यःसिँ ( लिंगो ) रूख काटेर ल्याइएको थियो ।

आश्विन शुक्ल तृतीयका दिन दसैं आउन लागेको जानकारी दिन लिंगो ठड्याउने परम्परा मल्लकाल देखि नै सुरू भएको भएता पनि पछिल्लो अवधिमा विविध आर्थिक, सामाजिक कारणले गर्दा रोकिएको गुठियारहरु बताउछन् ।

आश्विन शुक्ल चौथीका दिन लिंगो उठाए पछि पंचमीको बेलुका गुर्जु पल्टन साथ अजिमा संगै टेकु पचली पिठबाट पचली भैरब आजुको मुर्ति जडित घ्याम्पोलाई विविध बाजा गाजा साथ जात्रा सुरू गरी इनाखा ,ब्रह्मटोल, ज्याबहाल, लगन जैसीदेवल हुँदै प्राचिन हनुमानढोका दरबार परिसर क्षेत्रमा पुर्याई जीवित देवी कुमारीलाई दर्सन गराउन ल्याउने र पुनः सोहि रुट बाट फर्काई जात्रा हुने परम्परा छ। यो जात्रा प्राचिन काठमाडौं सहर अन्तर्गतको कोने अर्थात तल्लो भेगको सबै भन्दा ठुलो र एक मात्र जात्राको रुपमा समेत रहेको छ । पचली भैरब आजु जात्रा अन्तर्गत यस पाली प्रतेक १२ बर्षमा आयोजना गरिने पचली भैरब आजुको १२ बर्षे खड्ग सिद्धि जात्रा समेत हुन गैरहेको छ ।

श्री ५ बिरेन्द्र संग खड्ग सिद्धि जात्राका क्रममा श्री पचली भैरब गण

अष्टमीका दिन दसैंको विशेष रौनक सुरू हुँदा लिंगो ढालिन्छ। मल्लराजा जयराम मल्लले यो जात्राको सुरूआत गरेको विश्वास गरिन्छ। स्थानीय परापूर्व कालदेखि मान्दै आएको थकुजुजु बाट जात्राका क्रममा बिधिवत पूजा गर्ने गरिएको छ।

श्री पचली भैरव आजु योसिं गुठीले यो जात्रा व्यवस्थापन गर्दै आएको छ। गुठी र स्थानीयको  नेतृत्वमा साढे चार दशकपछि यो जात्रा पुनःस्थापना गर्न लागिएको पचली भैरब जात्रा व्यवस्थापन समितिक  संस्कृतिक संयोजक पुष्प रत्न प्रजापतिले  जनाउनु भएको  छ।