इजरायलमा मृत्यु भएका १० नेपालीमध्ये पाँच जनाको शव प्राप्त

इजरायलमा मृत्यु भएका १० नेपालीमध्ये पाँच जनाको शव प्राप्त

भीम विश्वकर्मा

काठमाडौँ । इजरायलमा हमास समूहको आक्रमणमा परी मृत्यु भएका १० नेपाली विद्यार्थीमध्ये पाँच जनाको शव नेपालले प्राप्त गरेको छ ।

इजरायलको तेल अबिबस्थित नेपाली राजदूतावासका अनुसार मृत्यु भएकामध्ये नारायणप्रसाद न्यौपाने, लोकेन्द्रसिंह धामी, गणेशकुमार नेपाली, दीपेशराज विष्ट र अशिष चौधरीको शव आइतबार नेपालले प्राप्त गरेको हो ।

घटनामा परी निधन भएका अन्य शव प्राप्त हुने क्रममा रहेको दूतावासले विज्ञप्तिमार्फत जनाएको छ । प्राप्त शव ढिला नगरी नेपाल पठाउन आवश्यक समन्वय भइरहेको र उपलब्ध संयन्त्रको प्रयोग गरी सम्पर्कविहीन रहेका विपिन जोशीको खोजी अझै तीव्र पारिएको विज्ञप्तिमा उल्लेख छ ।

आक्रमणमा परी घाइते भएका चार जनामध्ये दुईजना अस्पतालबाट डिस्चार्ज भएर एकजना नेपाल पुगिसकेका र एकजना दूतावासको हेरचाहमा रहेका छन् भने दुईजना अस्पतालमा उपचाररत छन् ।

असोज २० मा इजरायलको दक्षिणी क्षेत्रमा हमासले आक्रमण गर्दा १० नेपालीको ज्यान गएको थियो भने एक जना वेपत्ता छन् । २५४ जनालाई नेपाल सरकारले उद्धार गरिसकेको छ ।