मेलम्ची खानेपानी आयोजनाको मुहान सारिने

मेलम्ची खानेपानी आयोजनाको मुहान सारिने

भीम विश्वकर्मा

काठमाडौँ । मेलम्ची खानेपानी आयोजनाको मुहान (हेड वर्क्स) सारिने भएको छ । हाल सिन्धुपाल्चोकको हेलम्बुमा रहेको हेडवक्र्स सो क्षेत्रको भूबनोट तथा बाढीपहिरोको जोखिमका कारण सार्नुपर्ने भएको मेलम्ची खानेपानी आयोजना विकास समितिले जनाएको छ ।

एसियाली विकास बैंक (एडीबी) ले गरेको अध्ययन प्रतिवेदनका आधारमा आयोजनाको हेड वर्क्स अहिले भएको स्थानभन्दा करिब एक किलोमिटर माथि सार्नुपर्ने भएको समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले जानकारी दिए । एडीबी आयोजनाको दातृ निकाय हो । मेलम्ची खोलामा आएको पटक–पटकको बाढीपहिरोले हेड वर्क्स क्षतिग्रस्त हुँदै आएको छ ।

‘बैंकले आयोजनालाई अध्ययन प्रतिवेदन बुझाइसकेको छ । उनका अनुसार अब सो सम्बन्धमा काम अगाडि बढाउन सरकारले निर्णय गर्नु पर्छ । निर्णयपछि नयाँ हेडवर्क्स बनाउन सिफारिस गरिएको ठाउँको भौगर्भिक अध्ययनका साथै विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माण गर्न परामर्शदाता चयनका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गर्नुपर्ने बताए ।

उनले भौगर्भिक अध्ययन प्रतिवेदन स्वीकृत भएपछि हेड वर्क्स निर्माणका लागि निर्माण कम्पनी छनोट प्रक्रिया अगाडि बढ्ने र कम्पनी छनोट पछि हेड वर्क्स निर्माण गरी त्यसको सञ्चालन गर्न करिब तीन वर्ष समय लाग्न सक्ने प्रवक्ता पन्तको भनाइ छ । नयाँ हेडवर्क्स निर्माण गरी सञ्चालनमा ल्याउन लाग्न सक्ने लागतको यकिन डीपीआर निर्माणपछि मात्र स्पष्ट हुने उनको भनाइ छ ।

मेलम्ची खानेपानी आयोजनाको समय दुई दशक थप गरिए पनि अहिलेसम्म सो आयोजना स्थायी रूपमा सञ्चालनमा आउन सकेको छैन । शुरुमा १५ अर्ब रुपैयाँ लागत भनिएकोमा कुल लागत ३५ अर्ब रुपैयाँभन्दा बढी खर्च गरेर अस्थायी रूपमा निर्माण गरिएको आयोजनाबाट अहिलेसम्म नियमित रूपमा पानी वितरण गर्न सक्ने अवस्था छैन ।