मनाङ एयरको जहाज उडानमा प्रतिबन्ध

मनाङ एयरको जहाज उडानमा प्रतिबन्ध

भीम विश्वकर्मा

काठमाडौँ । नेपाल उड्डयन प्राधिकरण क्यानले मनाङ एयरको जहाज उडानमा प्रतिबन्ध लगाएको छ । मनाङ एयरका होलिकोप्टर लगातार दुर्घटना भएपछि अर्को निर्णय नभएसम्मका लागि उडानमा प्रतिवन्ध लगाएको क्यानका सह प्रवक्ता ज्ञानेन्द्र भूलले जानकारी दिए ।

आज बिहान सोलुखुम्बुको लुक्लाबाट लोबुचे उडेको मनाङ एयरको ९ ‘एन–एनजे’ कलसाईन हेलिकप्टर अवतरणको क्रममा दुर्घटनाग्रस्त भएको थियो । हाइ अल्टिच्युडमा रहेका यात्रु उद्धार गर्न शनिबार विहान ७:१३ मिनेटमा उडेको हेलिकप्टर दुर्घटना हुँदा पाइलट पिके सेढाइँ घाइते भएका छन् ।

३ महिनाको अन्तरालमा २ हेलिकोप्टर दुर्घटनामा परेपछि प्राधिकरणले मनाङ एयरका हेलिकोप्टरको उडान सुरक्षाको मूल्यांकनका लागि एयर अप्रेटर सर्टिफिकेट(एओसी) पनि निलम्बन गरेको छ । प्रवक्ता भूलले मनाङ एयरको हेलिकप्टरको खराब उडान सुरक्षाका कारण एयर अपरेटर सर्टिफिकेट निलम्बन गरेको बताए ।

मनाङ एयरसँग रहेको दुईवटा हेलिकप्टर दुर्घटनामा परेपछि अब अर्को हेलिकप्टर ल्याएपनि तत्काल उडान सञ्चालन गर्न नपाउने प्रवक्ता भूलले बताए ।

क्यानको प्राविधिक टोली दुर्घटनास्थलको अवस्था बुझ्न भोलि लोबुचे जादैछ । प्राविधिक टालीले त्यहाँको सम्पूर्ण रिर्पोटहरु ल्याउने र त्यसको अध्ययनपछि उडान अनुमति दिनेकी प्रतिबन्धलाई निरन्तरता दिने भन्ने निर्णय हुने सह प्रवक्ता भूलले बताए ।

गत जुलाई ११ मा ९ एन–एएमडब्ल्यू कल साइनको हेलिकोप्टर दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको थियो ।