इजरायलमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन दूतावासको आग्रह

इजरायलमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन दूतावासको आग्रह

भीम विश्वकर्मा

काठमाडौँ । इजरायलमा रहेका नेपालीलाई त्यहाँको स्थिति सामान्य नबन्दासम्म घरबाहिर ननिस्कन दूतावासले सुझाव दिएको छ ।

तेल अविव स्थित नेपाली राजदूतावासले इजरायलमा असुरक्षित महसुस गरिरहेका नेपाली नागरिकलाई स्थिति सामान्य नबन्दासम्म घर बाहिर ननिस्कन र सुरक्षित स्थानमा बस्न सुझाएको हो । स्वदेश फर्कन चाहनेहरूले राजदूतावासबाट सुरु गरिएको अनलाइन रजिष्ट्रेशन फर्म अनिवार्य भर्न पनि भनिएको छ ।

दूतावासका अनुसार निश्चित रोजगारदाता नभएका नेपाली नागरिकले पनि घर फर्कनका लागि अनलाइन फर्म भर्न सक्ने छन् । सुरक्षित आश्रयस्थल नभएकाहरूलाई खबर गर्न दूतावासले आग्रह गरेको छ ।

नेपाल सरकार, इजरायल सरकार र विभिन्न आधिकारिक निकायका सूचना एवं स्थानीय सुरक्षा प्रोटोकलको पालना गर्दै दूतावासको सम्पर्कमा रहन पनि भनिएको छ । पछिल्लो समय गाजा आसपाससहित इजरायलको दक्षिणी तथा उत्तरी सीमा क्षेत्रमा जोखिम थप बढेको दूतावासको सूचनामा उल्लेख छ ।

नेपाली राजदूतावास, तेल अविवको सूचना:
हाल ईजरायलमा असुरक्षित महसुस गरिरहनुभएका नेपाली नागरिकहरुले देहायबमोजिम गर्नुहुन सूचित गरिन्छ-

१.  स्थिति सामान्य नबन्दासम्म घरवाहिर ननिस्कन र सुरक्षित स्थानमा रहन विशेष अनुरोध गरिन्छ।

२.  पछिल्लो समय गाजा आसपास सहित ईजरायलको दक्षिणी तथा उत्तरी सीमा क्षेत्रमा जोखिम थप बढेको र ईजरायल सरकारद्वारा ती क्षेत्रमा रहेकाहरुलाई सुरक्षित क्षेत्रतर्फ जान सुझाइएकोले यदि तपाइँ रहेको क्षेत्रमा समेत असुरक्षा बढ्दै गएको स्थिति छ भने आफ्नो रोजगारदातासँग सल्लाह गरी त्यहाँबाट बढी सुरक्षित स्थानतर्फ सर्नुहोला।

३.  स्वदेश फर्कन चाहनेहरुले राजदूतावासबाट सुरु गरिएको अनलाइन रजिष्ट्रेशन फर्म अनिवार्य रुपमा भर्नुहोला। निश्चित रोजगारदाता नभएका नेपाली नागरिकहरुले पनि उल्लेखित अनलाइन फर्म भर्नुहोला।

४.  सुरक्षित आश्रयस्थल नभएकाहरुले दूतावासमा जानकारी गराउनुहोला।

५.  नेपाल सरकारका साथै ईजरायल सरकार र विभिन्न आधिकारिक निकायका सूचना एवं स्थानीय सुरक्षा प्रोटोकलहरुको पालना गर्दै दूतावासको सम्पर्कमा रहनुहोला।

पुनश्चः अहिले दूतावासमा कामको चाप अत्यन्तै धेरै रहेको तथा एकैपटक कैयौं फोन तथा मेसेजहरु आइरहने भएकोले पहिलो प्रयासमै फोन सम्पर्क नहुन सक्दछ त्यसका लागि क्षमाप्रार्थी छौं। यसरी दूतावासमा सीधा सम्पर्क स्थापित हुन नसकेको अवस्थामा अन्य मित्र तथा विभिन्न संघरसंस्था समेतको सहयोग लिनुहोला।

-नेपाली राजदूतावास
तेल अविव, ईजरायल।
२७ असोज, २०८०