सार्वजनिक सवारीलाई रुट परमिट खुला, ठूला सवारी उपत्यका प्रवेशमा रोक

सार्वजनिक सवारीलाई रुट परमिट खुला, ठूला सवारी उपत्यका प्रवेशमा रोक

भीम विश्वकर्मा

काठमाडौँ । सरकारले दशैंमा यात्रुहरुको आवतजावत सजिलो बनाउन आजदेखि सार्वजनिक सवारीलाई रुट परमिट खुला गरेको छ । रुट परमिट खुला गरेसँगै अब सार्वजनिक सवारी यात्रु लिएर देशका विभिन्न भागमा निर्वाधरुपमा जान पाउने भएका छन् ।

यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालको संयोजकत्वमा गत असोज २३ गते बसेको यातायात व्यवस्थापन समितिको बैठकको निर्णयअनुसार आजदेखि सार्वजनिक सवारीलाई रुट परमिट खुला गरेको हो । रुट परमिट खुला आगामी कात्तिक १० गतेसम्म जारी रहने विभागले जनाएको छ ।

साथै, आजैदेखि खाद्यान्नलगायत अत्यावश्यक वस्तुहरु ढुवानी गर्नेबाहेकका ट्रेलरलगायत ठूला सवारी काठमाडौँ उपत्यका प्रवेशमा रोक लगाइएको छ । दसैँका लागि घर जाने यात्रुलाई सहज होस् भन्ने उद्देश्यले सरकारले गत असोज २२ गतेदेखि नै अग्रीम टिकट बुकिङ खुला गरिसकेको छ ।

प्रत्येक वर्ष काठमाडौँबाट दसैँँ मनाउनका लागि २० लाखभन्दा बढी व्यक्ति आफ्नो जन्मस्थल जाने गरेका छन् । यसवर्षपनि १६ देखि १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान यातायात व्यवसायीहरुले गरेका छन् ।