इजरायलबाट सकुशल स्वदेश फर्किन पाउँदा विद्यार्थीहरू खुसी

इजरायलबाट सकुशल स्वदेश फर्किन पाउँदा विद्यार्थीहरू खुसी

कहिरन

इजरायलबाट सकुशल स्वदेश फर्किन पाउँदा नेपाली विद्यार्थीहरू एकतिर खुसी देखिन्थे त अर्कातिर सहकर्मी तथा सहपाठी १० जना साथीहरू गुमाउनुपर्दा उत्तिकै दुखी* (सच्याइएको) पनि ।

यस्तै विमानस्थलमा ‘रिसिभ’ गर्न आइपुगेका आफन्त भेट्दा कतिपय भक्कानिए भने कतिपयले एकअर्कालाई अँगालो हालेर आत्मीयता प्रकट गरे । शुक्रवार बिहान ३ बजेतिर २५४ जना नेपाली सरकारले व्यवस्था गरेको चार्टर विमानमार्फत स्वदेश फर्किएका हुन् । उनीहरु फर्किँदा खुसीका साथै सहपाठी सहकर्मीहरु गुमाएको आँसुको माहौल पनि उस्तै थियो ।

प्यालेस्टाइनको हमास समूहले गत शनिबार इजरायलमा गरेको आक्रमणमा परी घाइते भएका कैलालीका धनबहादुर चौधरीसहित २५४ नेपाली लिन परराष्ट्रमन्त्री एनपी साउद आफैँ चार्टर विमानमा इजरायल पुगेका थिए ।

परराष्ट्रमन्त्री साउदले आज नेपाल एयरलाइन्सको चार्टर उडानमार्फत २५४ जना नेपालीलाई स्वदेश ल्याइएको र अन्य नेपालीहरुलाई स्वदेश ल्याउन पनि आवश्यकताअनुसार इजरायल जहाज पठाउन सकिने बताए ।

उनले मन्त्रिपरिषद्ले नै यसका लागि आवश्यक निर्णय गरिसकेको बताउँदै नियमित र चार्टर उडानमार्फत नेपालीहरुलाई स्वदेश ल्याइने प्रतिबद्धता जनाए । उनका अनुसार नेपाली दूतावासको अनलाइन प्रणालीमा ५५७ जनाले आफ्नो विवरण उपलब्ध गराएका छन् । जसमध्ये ५०३ जनाले नेपाल फर्किन अनुरोध गरेकामा आज २५४ जना स्वदेश फर्किएका हुन् ।

इजरायलबाट उद्धार भएका विद्यार्थीमध्येकी एक सिरहाकी शोभा पासवानले बाँचेर फर्किन पाउँदा खुसी लागेको बताएकी छन् । तर, सहपाठी साथीहरू गुमाउनु पर्दा उत्तिकै नमिठो अनुभव भइरहेको पनि उनले बताइन् । अन्य विद्यार्थीहरुले पनि उस्तै प्रतिक्रिया दिए ।