जग्गा माग्दै वनकरियाले बुझायो बागमती सरकारलाई ज्ञापनपत्र

जग्गा माग्दै वनकरियाले बुझायो बागमती सरकारलाई ज्ञापनपत्र

कहिरन समाचार

मकवानपुर । मकवानपुरका वनकरियाले स्थायी बसोबासका लागि जग्गा माग्दै बागमती प्रदेश सरकारलाई ज्ञापनपत्र दिएका छन् । आइतबार बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालय पुगेर वनकरियाले ज्ञापनपत्र बुझाएका हुन् ।

मकवानपुरको मनहरी गाउँपालिका-४ ट्वाङ्ग्रामा कबुलियती वनको जग्गामा बस्दै आएका उनीहरूले वनकरिया महिला विकास संघको अगुवाइमा बसोबासको व्यवस्था गर्न माग गर्दै मन्त्रालयमा पुगेका हुन् ।

कृषिमन्त्री राजेन्द्रमान श्रेष्ठलाई ज्ञापनपत्र बुझाएर सामूहिक रूपमा जग्गा उपलब्ध गराउन माग गरेको संघ संयोजक माया वनकरियाले बताइन् । कृषिमन्त्री श्रेष्ठले वनकरिया समुदायको मागलाई सम्बोधन गर्न पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।

सामूहिक पुर्जाको माग गरी संघ र प्रदेशको मन्त्रालयमा ज्ञापनपत्र बुझाउँदै आएको वनकारिया समुदायकी अगुवा सन्तोषी वनकरियाले बताइन् । ‘कुनै पनि मन्त्रीलाई ज्ञापनपत्र बुझाउन बाँकी छैन, तर अहिलेसम्म सुनुवाइ भएको छैन,’ उनले भनिन् ।

हाल बसोबास रहेको ट्वाङ्ग्राको जग्गा कबुलियती वन क्षेत्रमा पर्छ । त्यसलाई छोड्नुपर्ने समय नजिकिंदै गएपछि वनकरिया अप्ठ्यारोमा परिरहेको मनहरी गाउँपालिका-४ वडाध्यक्ष प्रकाश थापाले बताए । उनीहरूलाई जग्गाको व्यवस्थाका लागि आफूले पनि सक्दो पहल गरिरहेको थापाको भनाइ छ ।