ललिता निवास जग्गा प्रकरणमा थप चार जना पक्राउ

ललिता निवास जग्गा प्रकरणमा थप चार जना पक्राउ

कहिरन समाचार

काठमाडौं । ललितानिवास जग्गा प्रकरणमा भूमि व्‍यवस्था विभागका पूर्व महानिर्देशक रुद्रबहादुर श्रेष्ठ पक्राउ परेका छन् ।

प्रहरीले मंगलबार श्रेष्ठलाई काठमाडौंबाट पक्राउ गरेको नेपाल प्रहरीका केन्द्रीय अनुसन्धान विभाग (सीआईबी)का एसएसपी दिनेश आचार्यले जानकारी दिए ।

भूमि विभागमा शाखा अधिकृत छँदा श्रेष्ठले २०४९ सालमा सरकारी जग्गा व्यक्तिका नाममा हुने गरी हालसाविक गर्न टिप्पणी उठाएको प्रहरीको अनुसन्धानमा खुलेको छ । पछि उनले महानिर्देशकबाट अवकाश पाएका थिए । श्रेष्ठले उठाएको टिप्पणीकै आधारमा तत्कालीन भोगाधिकारी सुवर्ण शमशेर राणाका परिवारले २०४९ सालमा ११२ रोपनी ४ आना जग्गा दर्ता गरेका थिए ।

तत्कालीन महानिर्देशक श्रेष्ठसँगै सीआईबीले पूर्व सुपरिटेन्डेन्ट इन्जिनीयर बालकृष्ण श्रेष्ठ, योगराज पौडेल र नारायणप्रसाद मिश्रलाई पनि पक्राउ गरेको छ ।  पौडेल र मिश्र पूर्व कर्मचारी हुन् ।

सीआईबीले यो प्रकरणमा १२ असारदेखि यता १६ जनालाई पक्राउ गरिसकेको छ ।