वानएक्स बेटको प्रचार गरेका कलाकारविरुद्ध मुद्दा दर्ता

वानएक्स बेटको प्रचार गरेका कलाकारविरुद्ध मुद्दा दर्ता

कहिरन समाचार

काठमाडौं । सट्टेबाजी गर्ने वेबसाइटको प्रचार गरेको अभियोगमा पक्राउ परेका कलाकारहरु बल्छी ध्रुवे, राजु मास्टरसहित ११ जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको छ ।

उनीहरुमाथि दुइ अभियोग सट्टाबाजी सम्बन्धी कसुर र नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गतको कसुरमा मुद्दा दर्ता गरेको जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंका प्रमुख एवं सहन्यायधिवक्ता अच्युतमणि नेउपानेले जानकारी दिए ।

उनका अनुसार मरिचमान श्रेष्ठ बल्छी ध्रुवे, राजु पौडेल राजुमास्टर, पवन खतिवडा म्याकुरीसहित दिनेश खड्का, अनिता धिताल, जलन घर्तीमगर, अलिश राई गणेश देवकोटा, बेगम नेपाली, रोशन खतिवडा, सरोज घिमिरेविरुद्ध पनि मुद्दा दर्ता गरेको छ । यो मुद्दामा एक जना भने फरार रहेका अभियोगपत्रमा उल्लेख छ ।

उनीहरुविरुद्ध वान एक्स बेट नामको सट्टेबाजीसँग सम्बन्धित वेवासाइटको प्रचार गरेको आरोप छ । उनीहरुविरुद्ध ६४ करोड ९४ लाख २९ हजार ८२० रुपैयाँ विगो दाबी गरिएको सहन्यायधिवक्ता नेउपानेले बताए ।

उनीहरुसँग विगो जफत गरेर ३ गुणासम्म जरिवाना वा ७ वर्षसम्म कैद वा दुबै सजाय माग दाबी गरिएको छ । प्रतिवादीहरुलाइ विज्ञापन नियमन गर्ने ऐन, २०७६ अनुसार मुद्दा चलाउँदै एकीकृत कसुर बापतको थप सजायपनि मागदाबी लिइएको छ ।