पार्किङको माग गर्दै कानून व्यवसायीहरु आन्दोलित

पार्किङको माग गर्दै कानून व्यवसायीहरु आन्दोलित

कहिरन समाचार

काठमाडौं । काठमाडौं जिल्ला अदालत भित्र सवारी साधन पार्किङ गर्न नदिइएको भन्दै कानून व्यवसायीहरु आन्दोलित भएका छन् । बबरमहलस्थित काठमाडौं जिल्ला अदालत परिसरभित्र काम विशेषले आउने कानून व्यवसायी र सेवाग्राहीहरुलाई पार्किङ गर्न नदिइएको भन्दै कानून व्यवसायीहरु आन्दोलित भएका हुन् ।

कानून व्यवसायीले अदालत प्रशासनलाई आम सर्वसाधारणका लागि पार्किङको व्यवस्था गर्न ज्ञापनपत्र समेत बुझाएका छन् । अधिवक्ता यज्ञमणि न्यौपानेले अदालतले भित्र पार्किङ गर्न नदिने र महानगरपालिकाले सडक पेटीमा पार्किङ गर्न नदिने हुँदा आम सर्वसाधारण समस्यामा परेका बताए ।

आन्दोलनरत अधिवक्ताहरुले अदालतभित्रको पार्किङ खुलाउन पटक पटक आग्रह गर्दासमेत सुनुवाई नभएको गुनासो गरेका छन् । अधिवक्ताहरुको समस्यालाई नेपाल बार एसोसिएसनले समेत चासो नदेखाएको भन्दै बार र बेञ्चको सेटिङ भएको आरोप उनीहरुले लगाएका छन् ।