कालीकोटमा अज्ञात रोगले एउटै गाउँका तीन सय जना बिरामी

कालीकोटमा अज्ञात रोगले एउटै गाउँका तीन सय जना बिरामी

कहिरन समाचार

कालीकोट । तिलागुफा नगरपालिका–१० रुडुगाउँमा अज्ञात रोगका कारण तीन सय ११ जना बिरामी परेका छन् । अज्ञात रोग फैलिएको जानकारी पाएपछि शुक्रबार जिल्ला अस्पताल र तिलागुफा नगर अस्पतालको चिकित्सकसहितको टोली रुडुगाउ पुगेको छ ।

चिकित्सकसहितको टोलीले बिरामीको स्वास्थ्य परीक्षण गरी औषधि वितरण गरेको जिल्ला जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी कटक महतले जानकारी दिए ।

बिरामीमा ज्वरो आउने, घाँटी र टाउको दुख्ने, घाँटीमा टन्सिल हुने, अनुहारमा दाग देखिने, हातखुट्टा सुनिनेलगायत लक्षण देखिएको छ । ‘गाउँमा स्वास्थ्य शिविर सञ्चालन गरेका छौँ’, उनले भने ।

नौ बिरामीको रगतको नमुना संकलन गरेर सुर्खेत पठाइएको छ । अधिकांश बिरामी महिला र बालबालिका रहेको तिलागुफा नगर अस्पतालका डा. टंकप्रसाद आचार्यले जानकारी दिए ।

‘शुक्रबार एक सय ९४ महिला र एक सय १७ पुरुषको स्वास्थ्य जाँच गरी औषधि वितरण गरेका छौँ’, उनले भने, ‘उपचार गर्न आउने दुई सय छ जना १५ वर्षमुनिका छन् ।’ सबै बिरामीमा एउटै किसिमको लक्षण भएको डा. आचार्यले बताए ।

हालसम्म पनि रोगको पहिचान हुन सकेको छैन । बिहीबार तिलागुफा नगरपालिकामा रहेको महादेव माध्यमिक विद्यालयमा अध्ययनरत १३ वर्षीया एक छात्राको अज्ञात रोगका कारण मृत्यु भएको थियो । अन्य विद्यार्थीहरु पनि विरामी पर्न थाले पछि रोगले महामारीको रुप लिन सक्ने भन्दै विद्यालय बन्द गरिएको छ ।