पोखराबाट उडान गर्न कतार एयरले प्रस्ताव गरेको छैन : प्राधिकरण

पोखराबाट उडान गर्न कतार एयरले प्रस्ताव गरेको छैन : प्राधिकरण

कहिरन समाचार

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले भने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यवसायिक उडान गर्न कतार एयरलाइन्सले कुनै पनि प्रस्ताव नगरेको बताएको छ ।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले कतार एयरलाइन्सले गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरलाइन्स लगायत सबै एयरलाइन्सलाई पोखरा तथा भैरहवाबाट व्यवसायिक उडान गर्न औपचारिक र अनौपचारिक रूपमा अनुरोध गर्दै आइरहे पनि अहिलेसम्म कतार एयरलाइन्सबाट कुनै पनि प्रस्ताव नआएको बताए ।

साथै प्रस्ताव आएमा जुनसुकै एयरलाइन्सलाई स्वागत गर्न तयार रहेको समेत सूचना अधिकारी भुलले बताए ।

यसअघि नेपालका लागि कतारी राजदूत युसुफ बिन मोहम्मद अल हेलले नेपालको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट कतारको राजधानी दोहा उडानका लागि ६ पटक पत्राचार गरिएको तर नेपाली अधिकारीले चासो नदिएको बताएका थिए ।

राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनासँग सिंहदरबारमा भएको विदाइ भेटमा राजदूत हेलले कतार पोखरा विमानस्थलबाट उडानका लागि तयार रहेको बताएका थिए । नेपालले चाँसो राखेर अघि बढेमा पोखरा, भैरहवाबाट सिधा उडान नियमित गर्न कुनै समस्या नरहेको उनको भनाइ थियो ।