सुन्दरहरैँचाका लेखाअधिकृत घुस रकमसहित कार्यकक्षबाटै पक्राउ

सुन्दरहरैँचाका लेखाअधिकृत घुस रकमसहित कार्यकक्षबाटै पक्राउ

कहिरन समाचार

मोरङ । अख्तियारले सुन्दरहरैँचा नगरपालिकाका लेखाअधिकृत शेखर ढकाललाई दुई लाख घुससहित कार्यकक्षबाटै पक्राउ गरेको छ ।

शुक्रबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग, इटहरी कार्यालयको टोलीले उनलाई घुससहित कार्यकक्षबाटै नियन्त्रणमा लिएको हो ।

उनले नगरपालिका कार्यालयको विभिन्न मर्मतसम्भार कार्यको भुक्तानी प्रयोजनका लागि सेवाग्राहीसँग दुई लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा कार्यकक्षबाटै नियन्त्रणमा लिएको र उनीमाथि अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

यस्तै धनुषाको नगराइन नगरपालिका वडा नं. २ का वडाध्यक्ष बुलन यादव र वडा सचिव अमृत नारायण मिश्रले भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

वडाध्यक्ष यादव र वडा सचिव मिश्रले सडक निर्माण कार्य सम्पन्न सिफारिस गरिदिए वापत सेवाग्राहीसँग सत्तरी हजार रुपैयाँ घुस लिएको अवस्थामा आयोगले नियन्त्रणमा लिएको थियो ।

आयोगले यादव र मिश्रलाई भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम बिगो र कैद सजाय माग गरी शुक्रबार विशेष अदालतमा आरोपपत्र दायर गरेको हो ।