गुण्डा नाइके समिरमान बस्नेतलाई जन्मकैदको सजाय

गुण्डा नाइके समिरमान बस्नेतलाई जन्मकैदको सजाय

कहिरन समाचार

काठमाडौं । जिल्ला अदालत काठमाडौंले गुण्डा नाइके समिरमान सिंह बस्नेतलाई जन्मकैदको फैसला सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले बुधबार बस्नेतलाई जन्मकैदको फैसला सुनाएको हो ।

घिमिरेको इजलासले निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद कुमार गौचनको हत्यामा संलग्न भएको आरोपमा उनीमाथि आज सजाय निर्धारण गरेको हो । हत्यामा मुख्य योजनाकार रहेका भनिएका बस्नेतसहित काले भन्ने अम्बरबहादुर रानालाई पनि जन्मकैदको फैसला सुनाइएको छ ।

हत्या गर्नका लागि गोली हान्ने लोप्साङ लामा भन्ने सोम तामाङलाई भने १५ वर्ष मात्र कैद हुनेगरी सजाय निर्धारण गरिएको अदालत प्रशासनले जनाएको छ । साथै समिरमानकी श्रीमती माया शेरचनलाई १० वर्ष कैद र ६० हजार रुपैयाँ जरिवाना हुने सजाय निर्धारण भएको जिल्ला अदालत काठमाडौंका प्रवक्ता दीपक दाहालले बताए ।

यस मुद्दामा असार १२ गते फैसला सुनाएको अदालतले १८ जनालाई दोषी ठहर गर्दै ६ जनालाई भने सफाइ दिएको थियो । गौचनको २०७४ असोज २३ गते काठमाडौंको प्रयागचोकमा गोली प्रहार गरी हत्या गरिएको थियो ।