पाठेघरको मुखको क्यान्सरविरुद्धको २० हजार भाइल एचपीभी खोप आइपुग्यो

पाठेघरको मुखको क्यान्सरविरुद्धको २० हजार भाइल एचपीभी खोप आइपुग्यो

कहिरन समाचार

काठमाडौं । पाठेघरको मुखको क्यान्सर विरुद्ध लगाइने २० हजार भायल एचपीभी खोप नेपाल आइपुगेको छ ।

स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखा अन्तर्गत आपूर्ति शाखाकी बरिष्ठ फार्मेसी अधिकृत निषा पराजुलीका अनुसार पाठेघरको मुखको क्यान्सर विरुद्ध लगाइने २० हजार भायल एचपीभी खोप चीनबाट मंगलबार नेपाल आईपुगेको हो ।

नेपाल आईपुगेका खोपहरु टेकु स्थित केन्द्रिय भण्डार कक्षमा राखिएको छ । नेपाल सरकारले खरिद गरेको यो खोप ९ देखि १४ वर्ष उमेर समूहका किशोरीलाई दुई डोज दिइनेछ । यो खोप कहाँबाट लगाउन सुरु गर्ने भन्ने विषयमा मन्त्रालयमा छलफल चलिरहेको छ ।

ह्युमन प्यापिलोमा भाइरसबाट लाग्ने यो रोगका कारण संसारभर वर्षेनी ३ लाख महिलाको ज्यान जाने गरेको तथ्यांक छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को तथ्यांक अनुसार नेपालमा एक लाख महिलामध्ये १४ जनाभन्दा बढीलाई पाठेघर मुखको क्यान्सर हुन्छ । र, वार्षिक २ हजारको मृत्यु हुने गरेको छ ।

एचपीभी खोपले ९० प्रतिशतसम्म पाठेघरको मुखको क्यान्सरको जोखिम घटाउने बिज्ञको दाबी छ । सरकारले जेठसम्ममा १ लाख २९ हजार ३ सय ५५ जनाको निःशुलक पाठेघरको मुखको क्यान्सरको स्क्रीनिङ गरिएको जनाएको छ ।

नेपालमा महिलाको मृत्यु हुने प्रमुख कारणमध्ये पाठेघरको मुखको क्यान्सर पनि एक हो । चिकित्सकका अनुसार सानै उमेरदेखि असुरक्षित यौनजन्य क्रियाकलापमा सक्रिय हुनु, धेरै बच्चा जन्माउनु, धेरै जनासँग यौनसम्पर्क गर्नु र सरसफाइको कमीले एचपीभी भाइरस संक्रमण हुन्छ ।